काठमाडौँ । अस्ट्रेलियाका विशाल कृषि क्षेत्रमा फैलिएको मुसाको प्रकोपले किसानहरूलाई गम्भीर संकटमा पारेको छ ।घर, गोदामदेखि लिएर खेतबारीसम्म मुसाहरू अनियन्त्रित रूपमा फैलिँदा अन्नबाली नष्ट हुनुका साथै आर्थिक क्षति अत्यधिक बढेको छ ।पश्चिमी अस्ट्रेलियाको मिंगिनेउ क्षेत्रमा १४,००० हेक्टर जमिनमा गहुँ, क्यानोला, लुपिन र जौ खेती गर्ने ४३ वर्षीय किसान गियोफ कसग्रोभ भन्छन्, ‘यो निकै ठुलो नोक्सानी हो, र यो केवल एक डोज विषादीको मूल्य मात्र होइन ।’
उनका अनुसार मुसाहरू रातभरि घरको छत, एयर कन्डिसन हुँदै र घरका भित्री भाग सम्मै दौडिरहेका हुन्छन्, जसको आवाज र गन्ध अत्यन्त असह्य छ । ‘यो सडिरहेको शरीरजस्तो गन्ध आउँछ,’ उनी भन्छन् ।गत वर्षको तुलनामा यस वर्षको प्रकोप अझै भयावह भएको किसानहरूको भनाइ छ । २०२१ मा पनि अस्ट्रेलियाका धेरै क्षेत्रहरू (विशेषगरी न्यू साउथ वेल्स र क्वीन्सल्याण्ड)मा ठुलो मुसा प्रकोप देखिएको थियो, जसले जेलभित्र सम्म क्षति पुर्याए थिए । मुसा आतङ्ककै कारण कैदीहरूलाई स्थानान्तरण गर्नुपर्ने अवस्था आएको थियो ।यस पटक पश्चिमी अस्ट्रेलियामा मार्चदेखि नै मुसा सङ्ख्या तीव्र रूपमा बढेको छ भने दक्षिण अस्ट्रेलियामा पनि विस्तार भएको छ । कृषि विज्ञ तथा कृषक बेलिन्डा इस्तोग का अनुसार मुसाहरू अहिले खेतमै बसिरहेका छन् किनकि त्यहाँ पर्याप्त खाना छ । उनी भन्छिन्, ‘रेकर्ड कायम हुनेगरि बाली उत्पादन भएका कारण खेतमा प्रशस्त अन्न खस्छ, जसले मुसालाई सजिलो पारेको छ ।’
उनका अनुसार क्यानोला खेती गरिएको कतिपय क्षेत्रमा त प्रति हेक्टर ८,००० देखि १०,००० सम्म मुसा भेटिएका छन् । ‘यस वर्ष उनीहरू नियन्त्रणमा आउनुको सट्टा अझै बढिरहेका छन्, म डरमा बाँचिरहेकी छु,’ उनी भन्छिन् ।अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकाय सियसआइआरओका अनुसन्धानकर्ता स्टेभ हेनरीका अनुसार सामान्यतया ८०० मुसा प्रति हेक्टरलाई प्रकोप मानिन्छ, तर पश्चिमी अस्ट्रेलियामा यो सङ्ख्या हजारौँ पुगेको छ । मुसाले छिटो–छिटो प्रजनन गर्ने भएकाले अवस्था नियन्त्रणभन्दा बाहिर जान सक्छ ।किसानहरूका अनुसार डिजेल र मलको मूल्य पनि बढ्दै गएको छ, जसले समस्या झन् गहिरो बनाएको छ । साथै रातभरि खेत र घरमा मुसा दौडिने भएकाले किसानहरूको मानसिक तनाव पनि बढेको छ ।
हाल सरकारबाट कडा विषाक्त प्रयोग गर्ने अनुमति दिइएको छ, जसले केही क्षेत्रमा मुसा सङ्ख्या घट्न थालेको संकेत दिएको छ । अनुभवी किसानहरूले भने बढ्दै जाने जाडो, वर्षा र कडा नियन्त्रण उपायले केही राहत ल्याउन सक्ने आशा व्यक्त गरेका छन् ।तर धेरै किसानहरू अझै पनिडर र अनिश्चितताबिच काम गर्न बाध्य छन्, किनकि यो प्रकोपले अस्ट्रेलियाको कृषि जीवनलाई गम्भीर चुनौती दिइरहेको छ ।




.gif)





