images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • ‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न...

‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

images
images
बुधवार, जेठ १३ २०८३
बुधवार, जेठ १३ २०८३
  • म्याग्दी, १३ जेठ  ।  म्याग्दीको धवलागिरी गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा पाइने सङ्कटापन्न जनावर रेडपाण्डा हाब्रेको दिसा परीक्षण गरी स्वास्थ्य अवस्थाको अध्ययन थालिएको छ । 

    images
    images

    दातृ निकाय टोलेडोजुको सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले रेडपाण्डाको बसोबास भएको धवलागिरी गाउँपालिका–२ र ३ मा पर्ने जलजला, मुना, मरेनी र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा अध्ययन थालेको हो । 

    वायोकस नेपालका कार्यक्रम अधिकृत पवन राईले हाब्रेको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिने र संरक्षणमा सहयोग गर्ने उद्देश्यले हाब्रेको दिसाको परीक्षण गरी अध्ययन गर्न प्राविधिक टोली परिचालन भएको जानकारी दिएका छन् । 

    images
    images

    “यस क्षेत्रमा हाब्रेको पेट र आन्द्रामा हुने परजीवी (किरा–जुका(को अवस्थाका विषयमा अध्ययन भइरहेको छ,” उनले भने, “दिसा भेटिएका ठाउँहरुमा जडान भएको १२ वटा स्वचालित क्यामेरामा कैद हुने दृष्यको आधारमा रेडपाण्डाको अनुमानित सङ्ख्या पहिचान गर्नका लागि पनि अध्ययन भइरहेको छ ।”  
     
    समुन्द्री सतहबाट दुई हजार २०० देखि चार हजार ५०० मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ । यसअघि जलजलामा तीन वटा क्यामेरा जडान गरिएकोमा दुई वटामा रेडपाण्डा ‘रेकर्ड’ भएको कार्यक्रम अधिकृत राईले बताएका छन् ।  सो क्षेत्रमा छ वटादेखि २५ वटासम्म रेडपाण्डाको बसोबास भएको उनले बताएका छन् । 
     
    स्थानीयबासीले विसं २०८० को असोजमा ढोरपाटन शिकार आरक्षको गुर्जाघाट, २०८१ को मङ्सिर र २०८३ वैशाख ३१ गते मुनाको दहपातल सामुदायिक वनको बञ्चरेडाडा क्षेत्रमा हाब्रे भेटिएको तस्बिर भिडियो सार्वजनिक गरेका थिए । 

    विसं २०७३ मा विश्व वन्यजन्तु कोषको र हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले जलजला क्षेत्रमा पर्ने मरेनीमा रेडपाण्डाको दिसा भेट्टाएका थिए । रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोमा रूखका हाँगा बसी आराम गर्ने रेडपाण्डा भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भुईँमा झर्छ ।  

    रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख गूर्जा, लुलाङ र मुनाको जंगलमा पर्याप्त छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको हो । 

    रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई एक वर्षदेखि १० वर्ष कैद र रु एक लाखदेखि रु पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । पछिल्लो अध्ययनअनुसार हाब्रेको सङ्ख्या नेपालमा पाँच सयदेखि एक हजार वटा रहेको अनुमान गरिएको छ । विश्वमा नेपाल, चीन, भारत, भुटान र म्यानमारमा मात्र हाब्रेको बासस्थान छ । नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend