तनहुँ, जेठ १२ गते । गण्डकी प्रदेशलाई चितवनसँग जोड्ने गौरवको आयोजना सहिद बुद्धसिंह मार्गको कालोपत्रे कार्य निर्माण म्याद सकिएसँगै अलपत्र परेको छ । तोकिएको समयभित्र काम सम्पन्न हुन नसक्दा ३४ करोड रुपियाँ लागतको यो सडक आयोजना गम्भीर अन्योलमा परेको हो ।पूर्वाधार विकास कार्यालय तनहुँकी सूचना अधिकारी इञ्जिनियर शुष्मा अधिकारीका अनुसार सम्झौता अवधि सकिँदासमेत सडकको करिब ६० प्रतिशत काम अझै अधुरो रहेको छ । सफल मैनाचुली जेभीले २०७९ भदौ २७ गते ३३ महिनाभित्र सम्पन्न गर्ने गरी ३४ करोड २७ लाख ५४ हजार ५६१ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो ।
दमौली बसपार्कदेखि सुँडेको पुलसम्मको १० किलोमिटर खण्डलाई सात मिटर चौडाइमा कालोपत्रे गर्ने जिम्मेवारी पाएको निर्माण कम्पनीले म्याद सकिँदासम्म कटिङ, नाला तथा टेवा पर्खाल निर्माणमै सीमित रहेको छ भने कालोपत्रे कार्य सुरु नै हुन सकेको छैन ।बुद्धसिंह मार्ग उपभोक्ता संघर्ष समितिका अध्यक्ष सिद्धान्त गर्जा मगरले निर्माण कार्य अत्यन्त सुस्त गतिमा अघि बढेकाले म्याद सकिँदासमेत काम पूरा नहुनु दुःखद भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएन, जसले गर्दा स्थानीयले वर्षामा हिलो र हिउँदमा धुलोको सास्ती भोग्न बाध्य छन् ।”३२ वर्षअघि रेखांकन गरिएको यो मार्ग पृथ्वी राजमार्गअन्तर्गत पोखरा–नारायणगढ सडकखण्डको महत्वपूर्ण वैकल्पिक र छोटो मार्ग मानिन्छ । दमौलीबाट मुग्लिन हुँदै घुमाउने पुग्ने ५६ किलोमिटर दूरी यो मार्ग पूर्ण सञ्चालनमा आएमा करिब ३२ किलोमिटरमा झर्नेछ, जसले यात्रा दूरी उल्लेखनीय रूपमा घटाउने अपेक्षा गरिएको छ ।
तर निर्माणको ढिलासुस्ती, त्रिशूली नदीमा मोटरेबल पुल निर्माण नहुनु तथा तल्लो सेती जलविद्युत् आयोजनाका कारण करिब आठ किलोमिटर सडक डुबानमा पर्ने सम्भावनाले परियोजनामा थप जटिलता सिर्जना गरेको छ ।संस्थापक अध्यक्ष यमबहादुर आलेले म्याद सकिएर पनि आधाभन्दा बढी काम बाँकी रहनु ठेकेदारको लापरबाही र सम्बन्धित निकायको कमजोर अनुगमनको परिणाम भएको बताउनुभयो । उहाँले सहिदको नाममा रहेको मार्ग नै यसरी अलपत्र पर्नु जनताको पीडा मात्र नभई सहिदप्रति अपमानसमेत भएको टिप्पणी गर्नुभयो




.gif)





