काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.७५ प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले १ अर्ब २८ करोड ६७ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १५ करोड १५ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
यता, बैंकको नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ७९ पैसा बढेर २६ रुपैयाँ ५३ पैसा पुगेको छ।
असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ ११ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११.२० गुणा रहेको छ।
यस्तै, पहिलो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा पनि बढेको छ । जस कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।
त्यसैगरी, असोज मसान्तसम्ममा २ अर्ब ७३ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी २५ रुपैयाँ ५५ पैसा रहेको छ।
१९ अर्ब ४० करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ११.२८ प्रतिशत बढेको छ। त्यस्तै, सो अवधिमा बैंकको निक्षेप ५.०० प्रतिशत र कर्जा तथा सापटी ३.९२ प्रतिशत बढेको छ।




.gif)





