काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा गरिएको विषादी अवशेष परीक्षणका क्रममा भक्तपुरको मध्यपुर थिमीबाट ल्याइएको रायोको साग खान अयोग्य भेटिएको छ ।केन्द्रीय कृषि प्रयोगशाला मातहतको ‘विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ’, कालीमाटीले मङ्गलवार गरेको परीक्षणमा १३ वटा नमुनामध्ये एउटा नमुनामा विषादीको मात्रा उच्च पाइएको हो ।प्रयोगशालाका अनुसार सुनिता श्रेष्ठले बजारमा ल्याएको रायोको सागमा अर्गानोफोस्फेट विषादीको रोकावट प्रतिशत ५५.७२ देखिएको छ । सरकारी मापदण्ड अनुसार विषादीको मात्रा ४५ प्रतिशत भन्दा बढी भएमा त्यस्तो तरकारी तथा फलफूल खान अयोग्य मानिन्छ र तत्काल विसर्जन गर्नुपर्ने हुन्छ । सोही बमोजिम उक्त रायो सागलाई विसर्जन गर्न निर्देशन दिइएको छ ।
सोही दिन परीक्षण गरिएका अन्य तरकारी तथा फलफूलहरू भने उपभोगका लागि सुरक्षित पाइएका छन् । प्रयोगशालाले सुनसरीको खरबुजा, भारतको मेवा, नवलपरासीको खरबुजा, चीनको स्याउ, धादिङको तितो करेला, मकवानपुरको बन्दागोभी, नुवाकोटको गोलभेँडा र खुर्सानी, काठमाडौँको काँक्रो, चितवनको भान्टा, काभ्रेको भेँडे खुर्सानी र दोलखाको रायो सागको परीक्षण गरेको थियो । यी सबैमा विषादीको मात्रा ३५ प्रतिशत भन्दा कम देखिएकाले उपभोगयोग्य भनी प्रमाणित गरिएको छ ।सरकारको नियमअनुसार, रोकावट प्रतिशत ३५ भन्दा कम भए उपभोगयोग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन राखेर मात्र प्रयोग गर्नुपर्ने (क्वारेन्टाइन) र ४५ प्रतिशत भन्दा बढी भएमा नष्ट गर्नुपर्ने प्रावधान छ ।यो परीक्षण कार्बामेट र अर्गानोफोस्फेट समूहका कीटनाशक विषादीहरूमा मात्र आधारित रहेको प्रयोगशालाले जनाएको छ ।




.gif)



