काठमाडौँ, १७ वैशाख । देशको पूँजीबजारमा देखिएका समस्या समाधान गर्न माग गर्दै नेपाल शेयरबजार लगानीकर्ता संघ ले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै पूँजीबजारको सुधार, विकास र विस्तारका लागि तत्काल ठोस कदम चाल्न आग्रह गरेको हो।
संघले नेपालको धितोपत्र बजार हाल अत्यन्तै कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड मा व्याप्त भ्रष्टाचार, वित्तीय अनियमितता, स्वेच्छाचारिता र नीतिगत अस्थिरताले समग्र बजार संकटमा परेको दाबी गरेको छ।
नेपालमा हाल ५७ लाख ९ हजार ५६६ भन्दा बढी हितग्राही खातावालाहरू प्रत्यक्ष रूपमा शेयर बजारमा आबद्ध रहेका छन्। यति ठूलो संख्यामा सर्वसाधारणको लगानी रहेको क्षेत्रमा निराशा बढ्दै जानुले समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने संघको भनाइ छ।
संघका अनुसार धितोपत्र बोर्डले साना लगानीकर्ताको हित संरक्षण गर्ने आफ्नो कानुनी दायित्व पूरा गर्न सकेको छैन। धितोपत्र सम्बन्धी ऐन २०६३ को प्रस्तावनामा लगानीकर्ताको हित संरक्षण गर्ने उल्लेख भए पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको आरोप लगाइएको छ। साथै, बोर्डले (एफएटीएफ) को ग्रे लिस्टसँग सम्बन्धित विषयमा समेत विवादास्पद भूमिका खेलेको संघको दाबी छ।
पूँजीबजारलाई थप कमजोर हुनबाट जोगाउन प्रधानमन्त्रीबाट तत्काल हस्तक्षेप आवश्यक रहेको संघले जोड दिएको छ। हाल कायम रहेका बोर्डका पदाधिकारीहरूलाई फिर्ता बोलाई उनीहरूको स्थानमा प्रतिबद्ध र परिणाममुखी विज्ञहरू नियुक्त गर्नुपर्ने माग पनि संघले राखेको छ।
लामो समयदेखि विभिन्न लगानीकर्ता संघ–संस्थाहरूले सुधारका लागि आवाज उठाउँदै आए पनि सम्बन्धित निकायबाट सुनुवाइ नभएपछि बाध्य भएर प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु परेको संघले जनाएको छ।




.gif)





