काठमाडौँ, १५ वैशाख ।राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंमा वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै कार्यालयले यस्तो प्रक्षेपण गरेको हो।
कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब रुपैयाँ रहने संशोधित अनुमान गरिएको छ। यससँगै चालु वर्षमा अर्थतन्त्रको आकार उल्लेख्य रूपमा विस्तार हुने देखिएको छ।
आर्थिक वृद्धिदर मापनका लागि स्थिर मूल्यमा गणना गरिएको कुल गार्हस्थ्य उत्पादन (GDP) प्रयोग गरिएको कार्यालयले जनाएको छ। सोही आधारमा चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.६८ प्रतिशत तथा उपभोक्ताको मूल्यमा ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमल प्रसाद पोख्रेलका अनुसार चालु वर्षमा कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ४.५४ प्रतिशत रहने अनुमान गरिएको छ। उनले नीति निर्माणमा तथ्याङ्कको अधिकतम प्रयोग आवश्यक रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तथ्याङ्क तयार पारिने बताए।
त्यसैगरी चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,५३५ अमेरिकी डलर पुग्ने प्रारम्भिक अनुमान गरिएको छ।
क्षेत्रगत योगदानतर्फ निर्माण क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ५.५२ प्रतिशत हिस्सा ओगट्ने र यसको मूल्य अभिवृद्धि वृद्धिदर २.२१ प्रतिशत रहने अनुमान गरिएको छ। वित्तीय तथा बिमा क्षेत्रको योगदान ६.७२ प्रतिशत रहने र यसको मूल्य अभिवृद्धि वृद्धिदर ९.१६ प्रतिशत रहने प्रारम्भिक आँकलन गरिएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेका यी तथ्याङ्कहरूले आगामी आर्थिक नीति तथा योजना निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।




.gif)





