काठमाडौँ । बितेका २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ४ सय ९२ सवारी चालक ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा ५ लाख ४ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन (ड्रिंक एण्ड ड्राइभ) गर्ने ६८ जना, नियम विपरीत ‘राइड सेयरिङ’ गर्ने २७५ जना, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने १४५ जना र तीव्र गतिमा सवारी चलाउने १८३ जनालाई कारबाही गरिएको छ।
यस्तै, लेन अनुशासन उल्लङ्घन गर्ने ९६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७५ जना, निर्धारित स्थानबाहेक यात्रु चढाउने–ओराल्ने ५९ जना तथा अन्य विभिन्न नियम उल्लङ्घन गर्ने १ हजार ४ सय १३ जनालाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको जनाएको छ।
ट्राफिक प्रहरीले सवारी चालकलाई नियम पालना गर्न आग्रह गर्दै सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ।




.gif)





