images

२०८३ आश्विन १८ गते

images
images
images

तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान

तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान

images
images
आइतवार, बैशाख १३ २०८३
आइतवार, बैशाख १३ २०८३
  • राँझा (बाँके), १३ वैशाख । जिल्लामा व्यावसायिक रूपमा तरकारी उत्पादन गर्दै आएका किसान विषादी प्रयोगबारे सचेत बन्दै गएका छन् । नेपालगन्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकामा यो वर्ष हालसम्म फेला परेको छैन । 

    images
    images

    कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानको तरकारी जफत गरी सचेत गराउने गरेकाले अहिले किसान आफैँ विषादी प्रयोगमा सचेत हुँदै गएका छन् । भारतबाट आउने तरकारीलाई भन्सारमा खाद्य प्रविधि गुण नियन्त्रण विभागले परीक्षण गर्ने र रानी तलाउ तरकारी बजारमा पुनः नमूना परीक्षण गर्ने गरिएको छ । रानी तलाउ तरकारी बजारमा सार्वजनिक बिदाको दिनबाहेक प्रायः दैनिक रूपमा परीक्षण हुने गरेको अध्यक्ष थापा क्षेत्रीले बताएका छन ।

    बेमौसमी तरकारी उत्पादन गर्न किसानले विषादीको मात्रा धेरै प्रयोग गर्ने गरेका छन् । पुस–माघको मौसमी सागमा विषादीको मात्रा नदेखिए पनि अहिले कीराबाट बचाउन किसानले विषादी प्रयोग गरेको हुनसक्ने आशङ्कामा बेमौसमी तरकारीमा विषादीको अवशेष नमूना जाँचमा चासो दिने गरेको अध्यक्ष थापा क्षेत्रीले बताएका छन । रानी तलाउ तरकारी बजारमा अहिले जिल्लाकै किसानले उत्पादन गरको तरकारी बिक्रीवितरण भइरहेको छ । भारतबाट आउने तरकारी भन्सार गरेर ल्याउँदा महँगो पर्ने भएकाले नेपालकै तरकारीले बजार पाएको उनले बताएका छन ।

    images
    images

    विषादी प्रयोग गरेको तरकारी तुरुन्तै टिपेर बजारमा ल्याउँदा विषादीको मात्रा धेरै देखिने केन्द्रीय कृषि प्रयोगशालाका नेपालगन्जस्थित प्रतिनिधि नायब प्राविधिक सहायक गौरव चौधरीले बताएका छन । उनका अनुसार तरकारी तथा फलफूलजन्य वस्तुको नमूना परीक्षणमा ३५ प्रतिशत भन्दा कम निषेध प्रतिशत भएमा त्यसलाई ‘ग्रीन लेबल’ (उपभोग गर्न मिल्ने), ३५ देखि ४५ प्रतिशत निषेध प्रतिशत पाइएमा त्यसलाई ‘एल्लो लेबल’ (चार–पाँच दिनसम्म क्वारेन्टिनमा राखेर पुनःपरीक्षण गर्दा ३५ प्रतिशतभन्दा कम निषेध प्रतिशत देखिएमा उपभोग गर्न मिल्ने) र ४५ प्रतिशतभन्दा माथि निषेध प्रतिशत देखिएमा त्यसलाई ‘रेड लेबल’ (उपभोग गर्न नमिल्ने) भनेर कैफियत लेखिन्छ ।

    विगतमा बाँकेको हिरमिनिया र बाबुगाउँ तथा भारतबाट आयात भएका तरकारीमा बढी मात्रामा विषादी अवशेष भेटिने गरे पनि अहिले सुधार आएको प्रयोगशालाको तथ्याङ्कले देखाएको छ । तरकारी तथा फलफूलजन्य वस्तुमा ‘अर्गानोफस्फेट’ र ‘कार्बामेट’ गरी दुईवटा विषादी समूहको परीक्षण हुने गर्दछ । नेपालगन्जबाट २०७९ मङ्सिरदेखि तरकारी तथा फलफूलजन्य वस्तुको विषादी नमूना परीक्षण सुरु गरिएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend