चितवन । पश्चिम चितवनका किसानहरू यतिबेला गम्भीर आर्थिक संकटमा परेका छन्। उत्पादन भएको तरकारीले बजार नपाएपछि बारीमै कुहिन थालेको छ भने किसानले लगानीसमेत उठाउन नसक्ने अवस्था सिर्जना भएको छ।
भरतपुर महानगरपालिका–२५, अमृतनगरकी लक्ष्मी रानाभाट विगत २० वर्षदेखि व्यवसायिक तरकारी खेती गर्दै आएकी कृषक हुन्। उनले यस वर्ष १२ विगाहामा काँक्रो, बोडी, करेला, चिचिन्डो लगायतका लहरे बाली लगाएकी छन्। तर अहिले बजार अभावका कारण ती तरकारी बारीमै कुहिएर खेर गइरहेका छन्।
“राम्रो मूल्य पाइन्छ भन्ने आशामा खेती गरियो,” उनले भनिन्, “तर अहिले पाँच रुपैयाँ किलोमा पनि कसैले लिन मान्दैन। उत्पादन गरेर फाल्नुपर्ने अवस्था आएको छ।”
उनका अनुसार विषादी, बिउ, मल र प्लास्टिक मल्चिङजस्ता सामग्रीको लागत हरेक वर्ष बढिरहेको छ। तर बजारमा मूल्य नपाउँदा किसानको मेहनत र लगानी दुवै डुब्ने खतरा बढेको छ।
अमृतनगरकै अर्की कृषक सुमिना थापाले पनि यस्तै समस्या भोगिरहेकी छन्। उनले दुई बिघामा तरकारी खेती गरेकी छन्। “चार रुपैयाँ किलोमा पनि बोडी उठेन,” उनले भनिन्, “हिजो टिपेको १० बोरा बोडी घरमै थन्किएको छ, काँक्रो त बारीमै सुक्दैछ।”
यस वर्ष उनले करिब दुई लाख रुपैयाँ लगानी गरेकी थिइन्। तर बजार अभावले आम्दानी नहुँदा खेतालालाई पारिश्रमिक दिनसमेत समस्या हुने चिन्ता बढेको छ।
किसानका अनुसार वैशाखको सुरुआतसम्म करेला प्रतिकेजी ६० रुपैयाँ, काँक्रो ४० रुपैयाँ र बोडी ४० रुपैयाँमा बिक्री भइरहेको थियो। तर केही दिनयता मूल्य ह्वात्तै घटेर पाँच रुपैयाँभन्दा तल झरेको छ।
किसानहरूले मूल्य गिरावटको विरोधमा सङ्घर्ष समिति समेत गठन गरेका छन्। समितिका संयोजक ईश्वरी प्रसाद न्यौपानेका अनुसार उत्पादन वृद्धि नभए पनि बजारमा मूल्य घट्नु अस्वाभाविक हो।
“हामीले पाँच रुपैयाँमा बेच्न नसकेको करेला उपभोक्ताले बजारमा १००–१२० रुपैयाँमा किन्न बाध्य छन्,” उनले भने, “बीचका बिचौलियाले नै मूल्यमा खेलबाड गरेका छन्।”
उनका अनुसार केही व्यापारीले बिलमा बढी मूल्य देखाएर वास्तविक मूल्य लुकाउने प्रयास समेत गर्ने गरेका छन्। किसानहरू भने ‘फाल्नुभन्दा जे पाइन्छ त्यही राम्रो’ भन्ने बाध्यतामा छन्।
पश्चिम चितवनलाई तरकारी उत्पादनको प्रमुख क्षेत्र मानिन्छ। यहाँ करिब एक हजार हेक्टरमा तरकारी खेती हुँदै आएको छ भने राजधानी काठमाडौं, पोखरा, हेटौँडा, बुटवल र नेपालगञ्जसम्म आपूर्ति हुने गरेको छ। यस सिजनमा करेला मात्रै करिब ४० विगाहामा उत्पादन भएको छ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ चितवनका प्रमुख महेश रेग्मीका अनुसार टमाटर, भान्टा र खुर्सानी खेती गर्ने किसानले केही राहत पाए पनि लहरे बाली उत्पादन गर्ने किसानले मूल्य नपाएको अवस्था छ।
“किसानले मूल्य पाएका छैनन्, तर उपभोक्ता महँगोमा किन्न बाध्य छन्,” उनले भने, “किसान र उपभोक्ताबीचको दूरी घटाउन राज्यले प्रभावकारी बजार व्यवस्थापन गर्न आवश्यक छ।”
किसानले उत्पादनको उचित मूल्य पाउने र उपभोक्ताले सस्तोमा तरकारी पाउने व्यवस्था मिलाउन नसक्दा कृषि क्षेत्रमा दीर्घकालीन असर पर्ने देखिएको छ।




.gif)





