झापा । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा पुल निर्माण कार्यले तीव्रता पाएको छ । झापा, मोरङ र सुनसरी जिल्लामा निर्माणाधीन ३७ वटा पुलमध्ये हालसम्म २५ वटा सम्पन्न भइसकेका छन् ।
मदन भण्डारी राजमार्ग आयोजना कार्यालय, दमकका सूचना अधिकारी एवं इन्जिनियर रमेशकुमार दत्तका अनुसार झापाको बाहुनडाँगी देखि सुनसरीको चतरा सम्म फैलिएको १३१ किलोमिटर सडकखण्डमा पुल निर्माण भइरहेको छ । निर्माण सम्पन्न भएका पुलहरूको लम्बाइ २० मिटरदेखि ३०० मिटरसम्म रहेको छ ।
उनका अनुसार वन क्षेत्रसँग सम्बन्धित प्रक्रियागत झन्झटका कारण कतिपय स्थानमा निर्माण कार्यमा ढिलाइ भएको हो । रुख कटान अनुमति लिन समय लाग्दा केही पुल अझै निर्माणाधीन अवस्थामा रहेका छन् ।
यस खण्डमा पुल निर्माणको कुल लागत ६ अर्ब १२ करोड ६२ लाख ५४ हजार रुपैयाँ रहेको छ भने सडक निर्माणतर्फ १० अर्ब १३ करोड रुपैयाँ खर्च अनुमान गरिएको छ ।
झापा जिल्लामा ढोङ्ग्रे खोला, खार खोला, दामा खोला, हँडिया खोला र गगटे खोलामा गरी पाँच वटा पुल निर्माण सम्पन्न भएका छन् । साथै, झापा–इलाम सीमामा पर्ने २२० मिटर लामो बिरिङ खोलाको पुल पनि तयार भइसकेको छ ।
मोरङ जिल्लामा धानखेती, खहरे, डाले, मुगु खोला, खुदुम, मोराङ्गी, तेली र सुनसरी खोलामा पुल निर्माण सम्पन्न भएका छन् भने इलाम क्षेत्रमा सबैभन्दा बढी १३ वटा पुल निर्माण सम्पन्न भएका छन् । तीमध्ये सुखानी शहादतस्थल, बुढी खोला, सुखानी खोला, टाङटिङ, गोयाङ, सानो नेते, ठूलो नेते, रतुवा, बुकुवा सानो, बुकुवा ठुलो, बिधुवा खोला, चाँजु खोला र बागद्वार खोलाका पुल सञ्चालनका लागि तयार छन् ।
हाल बाँकी १२ वटा पुलमध्ये मोरङमा आठ र सुनसरीमा चार वटा निर्माण अन्तिम चरणमा छन् । मोरङका सोल्टी–१, सोल्टी–२, मिखि खोला, बालुवा खोला, सानो नेते, तुर्की खोला, हचुवा र साउने खोलामा पुल निर्माण भइरहेको छ । त्यस्तै सुनसरीका रेल्वे रिभर, ठकुरी खोला, बाघ खोला र बगुवा खोलाका पुल सम्पन्न हुन बाँकी छन् ।
यी पुलहरू निर्माण सम्पन्न भएपछि पूर्वी नेपालको यातायात पहुँच सुधार हुनुका साथै व्यापार, पर्यटन र समग्र आर्थिक गतिविधिमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।




.gif)





