मुस्ताङ, १० वैशाख । मुस्ताङको थासाङ गाउँपालिकामा याक–चौँरी पालन गर्ने किसानलाई प्रोत्साहनस्वरूप रेनकोट वितरण गरिएको छ। कृषि तथा पशु विकास कार्यालय मुस्ताङले २६ घरधुरी किसानलाई रेनकोट उपलब्ध गराएको हो।
राष्ट्रिय याक दिवस २०८३ को अवसरमा बुधबार घट्टेखोलामा आयोजित दोस्रो राष्ट्रिय याक–चौँरी दिवसको समापन कार्यक्रममा उक्त सामग्री वितरण गरिएको हो। उच्च लेक, खर्क तथा पाटन क्षेत्रमा याक–चौँरी चराउँदा वर्षाका कारण गोठालालाई हुने समस्या कम गर्न र उनीहरूको मनोबल बढाउन रेनकोट प्रदान गरिएको कार्यालय प्रमुख एवं पशुचिकित्सक डा. लालमणि अर्यालले जानकारी दिए।
कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रदीप गौचन, उपाध्यक्ष सोमल हिराचन, वडाध्यक्ष हरी गौचन, याक–चौँरी महासङ्घका केन्द्रीय सचिव सोजन हिराचन लगायतको उपस्थितिमा किसानलाई रेनकोट हस्तान्तरण गरिएको थियो।
सो अवसरमा महासङ्घका सचिव हिराचनले यस्ता प्रोत्साहन कार्यक्रमले लोपोन्मुख अवस्थामा पुगेको याक–चौँरी पालन व्यवसाय संरक्षणमा टेवा पुग्ने बताए। उनले हिउँदमा बस्ती र वर्षायाममा उच्च लेकमा घुम्ती गोठ बनाएर सञ्चालन गर्नुपर्ने यस व्यवसाय जोखिमपूर्ण रहेको उल्लेख गर्दै सरकारले प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए। जलवायु परिवर्तन, चरन क्षेत्रको अभाव र वन्यजन्तुको जोखिमका कारण व्यवसाय थप चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ थियो।
गाउँपालिका अध्यक्ष गौचनले याक–चौँरी पालन मुस्ताङको ऐतिहासिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको व्यवसाय भएको उल्लेख गर्दै यसले स्थानीयको जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेलेको बताए।
सरकारले याक–चौँरी पालनलाई संरक्षण गर्न प्राकृतिक विपद् तथा वन्यजन्तुको आक्रमणबाट हुने क्षतिमा ८० प्रतिशतसम्म बिमा सुविधा उपलब्ध गराएको छ। साथै, थासाङमा यस व्यवसायको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणका लागि जिल्ला स्तरीय हिमालयन चौँरी पालन तथा संरक्षण समिति गठन गरिएको छ।
चालु आर्थिक वर्षमा थासाङमा पाँच नयाँ घरधुरीले याक–चौँरी पालन सुरु गरेका छन्। टुकुचेमा दुई, कोवाङमा एक र झिप्रा–देउरालीमा दुई घरधुरीले व्यवसाय थालेसँगै किसानमा उत्साह थपिएको जनाइएको छ।रासस




.gif)





