अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता नहुँदासम्म इरानी बन्दरगाहहरूमा लगाइएको प्रतिबन्ध नहटाउने बताएका छन् ।जारी युद्ध समाप्तीका लागि दोस्रो चरणको वार्ता हुने–नहुने अन्योल रहेका बेला राष्ट्रपति ट्रम्पले इरानी बन्दरगाहहरूमा जारी नाकाबन्दीबारे प्रतिक्रिया दिएका हुन् ।अमेरिकी नाकाबन्दीले इरानलाई पूर्णतया ध्वस्त गरिरहेको दाबी गर्दै ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘उनीहरू दैनिक ५ सय मिलियन डलर गुमाइरहेका छन् । यस्तो लामो समयसम्म चल्न असम्भव छ ।’
उता, इरानले बन्दरगाहहरूमा लगाइएको अमेरिकी नाकाबन्दी नहटाउँदासम्म वार्ता नहुने बताइसकेको छ ।यद्यपि, पाकिस्तानको राजधानीमा सम्भावित वार्ताका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।तर, बैठकमा अमेरिकाको प्रतिनिधित्व गरेका उपराष्ट्रपति जेडी भान्स अहिलेसम्म वासिङ्गटन छाडेका छैनन् ।इरानले पनि अहिलेसम्म वार्तामा सहभागी हुने–नहुने बारे तय गरिनसकेको बीबीसीले जनाएको छ ।
ट्रम्पको धम्कीका बीच वार्ता स्वीकार्य : इरान
इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीका बीच वार्ता स्वीकार्य नरहेको बताएको छ । अमेरिकासँगको अघिल्लो वार्तामा सहभागी इरानी संसद्का सभामुख मोहम्मद बगर गालिबाफले ट्रम्पको धम्कीका बीच इरानले वार्ता नस्वीकार्ने बताएका हुन् ।गालिबाफले एक्समा लेखेका छन्, ‘हामी धम्कीको छायामा वार्ता स्वीकार गर्दैनौं । विगत दुई हप्तादेखि हामीले युद्धभूमिमा नयाँ चालहरू चाल्ने तयारी गरिसकेका छौं ।’ट्रम्पले घेराबन्दी गरेर र युद्धविराम तोडेर वार्ताको मेजलाई आफ्नो कल्पनामा आत्मसमर्पणको मेज बनाउने वा युद्धलाई जायज ठहराउने प्रयास गरिरहेका उनको भनाइ छ ।
गालिबाफले अमेरिकासँगको पहिलो चरणको वार्तामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । अहिले पाकिस्तानको राजधानी इस्लामाबादमा दोस्रो चरणको वार्ताका लागि तयारी भइरहेको छ ।अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल पाकिस्तान जाने बताइसकेका छन् । तर, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले भने वार्ताका लागि निर्णय भइनसकेको बताएका छन् ।




.gif)





