भरतपुर । चालु आर्थिक वर्षमा आन्तरिक राजस्व कार्यालय भरतपुरले उल्लेखनीय रूपमा राजस्व सङ्कलन बढाएको छ। कार्यालयका अनुसार चैत मसान्तसम्म रु १८ अर्ब ५ करोड ५० लाख राजस्व सङ्कलन भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको रु १६ अर्ब ५८ करोड ३२ लाख भन्दा रु १ अर्ब ४७ करोड १८ लाख बढी हो।
यद्यपि, वार्षिक लक्ष्यअनुसार भने प्रगति सन्तोषजनक हुन सकेको छैन। चालु आवका लागि चैतसम्म रु २० अर्ब ६१ करोड २४ लाख लक्ष्य राखिएकोमा ८७.५९ प्रतिशत मात्र प्रगति भएको कार्यालय प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए। गत वर्ष सोही अवधिमा लक्ष्यको ९०.३८ प्रतिशत प्रगति भएको थियो।
कार्यालयले चालु आवको अन्त्यसम्म रु ३१ अर्ब ५ करोड ९५ लाख ४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ। गत आवमा भने वार्षिक लक्ष्य रु २६ अर्ब ६० करोड ९७ लाख ६० हजार थियो।
राजस्व सङ्कलन बढे पनि लक्ष्यअनुसार प्रगति कम हुनुको मुख्य कारण अन्तशुल्कतर्फको कमी रहेको कार्यालयले जनाएको छ। भरतपुर–२९ जुगेडीस्थित ‘रोलिङ रिभर’ मदिरा उद्योग बन्द हुँदा वार्षिक करिब रु १ अर्ब राजस्व घटेको खड्काको भनाइ छ। चालु आवमा अन्तशुल्क सङ्कलन ८९.३५ प्रतिशत रहेको छ भने गत वर्ष ९३.२९ प्रतिशत थियो। हालसम्म अन्तशुल्कबाट रु १३ अर्ब ४९ करोड ६३ लाख सङ्कलन भएको छ।
कार्यालयले लक्ष्य पूरा गर्न बाँकी बक्यौता असुलीमा कडाइ गरेको जनाएको छ। हाल रु ५ अर्बभन्दा बढी बक्यौता उठाउन सक्रियता बढाइएको छ भने रु २ अर्ब १५ करोड ८६ लाख बेरुजु फछ्र्यौटका लागि विशेष अभियान सञ्चालन गरिएको छ।
यसैगरी, ६० करदाता माथि अनुसन्धान, ४० फर्मको अग्रिम कर परीक्षण, तथा बजार अनुगमनलाई निरन्तरता दिइएको छ। विलासिता करअन्तर्गत २ प्रतिशत राजस्व असुलीका लागि समेत निगरानी बढाइएको कार्यालयले जनाएको छ।
करदाता शिक्षा कार्यक्रमलाई उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ तथा चेम्बर अफ कमर्शसँग सहकार्य गर्दै सञ्चालन गरिएको छ। साथै, अवैध मदिरा नियन्त्रणका लागि अनुगमन टोली परिचालन गरिएको छ।
कार्यालय अन्तर्गत हाल ७४ हजार ३७९ व्यावसायिक तथा १ लाख ८६ हजार ५७३ व्यक्तिगत करदाता आबद्ध रहेका छन्।




.gif)





