काठमाडौं । बुद्ध एयरको रोयल क्लब अब पूर्ण डिजिटल बनेको छ । यात्रुलाई उडानसँगै माइलेज प्वाइन्ट, डिस्काउन्ट तथा निःशुल्क टिकटलगायत सुविधासहित १ वैशाख २०८३ बाट बुद्धले रोयल क्लब फ्रिक्वेन्ट प्लायर कार्यक्रमलाई पूर्ण रूपमा डिजिटल तथा अनलाइन प्रणालीमा रूपान्तरण गरेको बताएको छ ।नियमित हवाई उडान गर्ने यात्रुहरूका लागि दशकौंदेखि सञ्चालन हुँदै यस कार्यक्रममार्फत लाखौं सदस्य लाभान्वित हुँदै आएको कम्पनीले जनाएको छ । यात्रु सदस्यले यस फ्रिक्वेन्ट फ्लायर कार्यक्रममार्फत उडानसँगै ’माइलेज प्वाइन्ट’ जम्मा गर्न पाउँछन् । निश्चित माइलेज प्वाइन्ट संकलन भएपछि यात्रु तथा तिनका परिवारका सदस्यले डिस्काउन्ट एवम् निःशुल्क हवाई टिकट प्राप्त गर्न सक्छन् ।
यसअघि रिफन्डेबल टिकट अर्थात ‘बाई ए/बी क्लास’मा मात्र यात्रुलाई माइलेज प्वाइन्ट प्रदान गर्दै आएकोमा अबदेखि नन–रिफन्डेबल टिकटमा पनि माइलेज प्वाइन्ट प्रदान गर्ने बुध्द एयरका सेल्स एन्ड मार्केटिङ डाइरेक्टर रूपेश जोशीले जानकारी दिए ।यात्रुहरूले संकलित माइलेज प्वाइन्ट प्रयोग गरी बुध्द एयरको मोबाइल एप वा वेवसाइटबाटै सजिलै टिकट काट्न सक्ने उनले बताए । यसअघि यो सुविधा केवल सेल्स काउन्टर वा एयरपोर्ट काउन्टरमार्फत मात्र उपलब्ध थियो ।कम्पनीका अनुसार काठमाडौंबाट पोखरा उडानमा नन रिफन्डेबल टिकटबाट यात्रुले ११२ माइलेज प्वाइन्ट प्राप्त गर्छन् भने सोही बराबरको अर्को पोखरा–काठमाडौं उडान टिकटमा ११२ रुपैयाँसम्मको सहजै डिस्काउन्ट प्राप्त गर्न सक्छन् । यात्रुहरूलाई जुनसुकै प्लेटफर्म वा ट्राभल एजेन्सीबाट टिकट काट्दा आफनो रोयल क्लब नम्बर उल्लेख गर्न बुध्द एयरले अनुरोध गरेको छ ।
यसले यात्रापछि प्राप्त हुने माइलेज प्वाइन्ट तथा डिस्काउन्टको सुविधा लिन सजिलो हुने बुध्द एयरले विज्ञप्तिमा उल्लेख गरेको छ । रोयल क्लबका सदस्यहरूले सुपर मार्केट, ग्रोसरी पसल, होटल, रिसोर्ट, गिफ्ट सपबाट पनि माइलेज प्वाइन्ट प्रयोग गरी छुट प्राप्त गर्न सक्छन् । यसका लागि रोयल क्लबले विभिन्न साझेदार संस्थासँग सहकार्य विस्तार गरिरहेको र इच्छुकहरूलाई सहकार्यका लागि आह्वान गरिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।




.gif)





