काठमाडौं । विशेष अदालतले खेलमैदान निर्माणमा अनियमितता गरेको ठहर गर्दै गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतसहित ६ जनालाई दोषी ठहर गरेको छ।
बझाङको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेलमैदानमा १४ लाख ६६ हजार ५ सय ३ रुपैयाँ अनियमितता भएको अदालतले ठहर गरेको हो।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइराला को इजलासले तत्कालीन प्रशासकीय अधिकृत चक्रदेव भट्ट, सबइन्जिनियर गणेशराज उपाध्याय, लेखा अधिकृत हर्कदेव जोशी तथा उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्रकुमार बोहरा, सचिव वीरबहादुर बोहरा र कोषाध्यक्ष निलम भण्डारीलाई दोषी ठहर गरेको हो।
अदालतले उनीहरूलाई जनही ३–३ महिना कैद तथा २ लाख ४४ हजार ४ सय १४ रुपैयाँका दरले जरिवाना सजाय सुनाएको छ।
उक्त खेलमैदान निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालय बाट ५० लाख रुपैयाँ र सांसद विकास कोषबाट १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो। एउटै कामका लागि दोहोरो भुक्तानी गरिएको पुष्टि भएपछि अदालतले दोषी ठहर गरेको हो।
२०७६ सालमा भएको अनियमितता सम्बन्धी उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले छानबिन गरी गत पुसमा मुद्दा दायर गरेको थियो।




.gif)





