images

२०८३ आश्विन १८ गते

images
images
images
  • कृषि
  • प्रतिकूल मौसम र किराको प्रकोपले मधेसमा...

प्रतिकूल मौसम र किराको प्रकोपले मधेसमा गहुँ उत्पादन घट्यो

प्रतिकूल मौसम र किराको प्रकोपले मधेसमा गहुँ उत्पादन घट्यो

images
images
सोमवार, चैत्र २३ २०८२
सोमवार, चैत्र २३ २०८२
  • धनुषा । मधेस प्रदेशका अधिकांश नागरिकको मुख्य पेसा कृषि हो। यहाँ धानपछिको दोस्रो मुख्य बालीका रूपमा गहुँलाई लिइन्छ। धनुषा जिल्लामा मात्रै ३४ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिन्छ। तर, गहुँ पसाउने र पाक्ने बेला (चैतको सुरु) मा आएको हावाहुरी र असिनापानीका कारण यसपालि बालीमा राम्रो दाना लागेको छैन।चर्को मूल्य तिरेर ट्र्याक्टरले जोतेको खेत, बोरिङबाट गरिएको सिँचाइ, मलखाद र कडा परिश्रम गरे पनि लागतसमेत नउठ्ने अवस्था आएपछि कृषकहरू निराश र चिन्तित छन्। जनकपुर उपमहानगरपालिका–२३ का किसान विला शाह भन्छन्, "समयमै बोरिङबाट पानी लगाउँदा र मलखाद दिँदा पनि गहुँबाली राम्रो भएन। किराको प्रकोप र मौसम अनुकूल नहुँदा गहुँको दाना पुष्ट भएन। यसपालि लगानी सबै डुब्यो।"

    images
    images

    मुखियापट्टीका रामजी यादवको पीडा पनि उस्तै छ। "यसपालि हावाहुरीले गर्दा बाली सुक्यो, दाना कालो र अपुष्ट भएको छ," उनले भने। नगराइन नगरपालिका–५ का ज्योति झा प्रमुख आयस्रोत नै गुमेपछि चिन्तामा छन्। उनी भन्छन्, "हामी खेतीमै आश्रित छौँ। साहुबाट ऋण लिएर खेती गरे पनि राम्रो उत्पादन नहुँदा वर्षभरि के खाने र साहुको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ।"धनुषामा हरेक वर्ष उत्पादनमा उतारचढाव देखिने गरेको छ। कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार कुनै वर्ष प्रतिहेक्टर २.९० मेट्रिक टनका दरले ३५ हजार ५०० हेक्टरमा ९७ हजार १५० मेट्रिक टन गहुँ उत्पादन भएको थियो भने, कुनै वर्ष उत्पादकत्व बढेर प्रतिहेक्टर ३.१० मेट्रिक टनका दरले १ लाख ३ हजार ८५० मेट्रिक टनसम्म उत्पादन भएको तथ्याङ्क छ। तर यसपालि प्रतिकूल मौसम, किराको प्रकोप, समयमै गुणस्तरीय बिउ, सिँचाइ र मलखादको अभावले उत्पादन ह्वात्तै घट्ने अनुमान छ। किसानका यस्ता समस्यामा सम्बन्धित निकाय भने मौन देखिन्छ।

    कृषि ज्ञान केन्द्र धनुषाका कृषि अधिकृत गणेश क्षेत्री भने क्षतिबारे यकिन तथ्याङ्क आइनसकेको बताउँछन्। "हामी अनुगमनमा जाँदा फाट्टफुट्ट रूपमा गहुँको बोट लडेको देखियो। त्यति धेरै क्षति भएको छैन कि भन्ने हाम्रो पूर्वानुमान छ, तर यथार्थ विवरण स्थानीय तहबाट तथ्याङ्क आएपछि मात्रै भन्न सकिन्छ," उनले भने।गहुँ उत्पादनका लागि मधेस प्रदेश देशभरिमै उर्वर र अग्रणी मानिन्छ। तर, सरकारसँग यसको अद्यावधिक र भरपर्दो तथ्याङ्क भने छैन। मधेस प्रदेशको कृषि विकास निर्देशनालयसँग रहेको पछिल्लो तथ्याङ्कअनुसार प्रदेशभरि १ लाख ७८ हजार ४३३ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३.३७ मेट्रिक टनका दरले ७ लाख ३१ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो।पोषणका दृष्टिकोणले गहुँ अत्यन्त महत्त्वपूर्ण मानिन्छ। चिकित्सक डा. जयन्त मिश्रका अनुसार गहुँमा कार्बोहाइड्रेट, फाइबर, प्रोटिन र भिटामिन 'बी' कम्प्लेक्स भरपुर मात्रामा पाइन्छ। साथै, म्याग्नेसियम र पोटासियमसमेत पाइने भएकाले यसलाई सर्वोत्तम भोजनका रूपमा लिइन्छ। यो भोजन पाचन प्रणाली सुधारका लागि अत्यन्त लाभदायक मानिने डा. मिश्र बताउँछन्।

    images
    images

    गहुँजस्तो महत्त्वपूर्ण बालीमा सरकारले आवश्यक सेवा सुविधा नदिँदा र आश्वासन भाषणमै सीमित राख्दा किसानहरू निराश छन्। कृषि अनुकूल वातावरण नबन्नु नै किसानहरू यो पेसाबाट विमुख भई वैदेशिक रोजगारीतिर पलायन हुने प्रमुख कारण बन्दै गएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend