काठमाडौँ, १८ चैत । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि भए पनि नेपाल आयल निगमले उपभोक्तालाई राहत दिँदै पेट्रोल र डिजेलको खुद्रा मूल्य यथावत् राखेको छ।
निगमका अनुसार पछिल्लो मूल्य समायोजन अनुसार पेट्रोलमा प्रतिलिटर ४१ रुपैयाँ र डिजेलमा ९४ रुपैयाँसम्म लागत वृद्धि भएर आएको छ। तर, उपभोक्ताको हितलाई प्राथमिकतामा राख्दै तत्कालका लागि मूल्य नबढाउने निर्णय गरिएको हो।
यद्यपि, अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य भने बढाइएको छ भने आन्तरिक हवाई इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ। पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको खुद्रा बिक्री मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन।
नयाँ मूल्य समायोजन चैत १८ गते बिहान १ बजेदेखि लागू भएको छ।
मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य चर्किँदा निगमलाई पछिल्लो १५ दिनमा करिब २१ करोड रुपैयाँ घाटा भएको जनाएको छ।
इन्डियन आयल कर्पोरेसनबाट आउने नयाँ खरिद मूल्य पनि बढेको अवस्थामा निगमले उपभोक्तालाई तत्काल भार नपार्ने र वित्तीय सन्तुलन कायम गर्ने रणनीतिसहित यस्तो निर्णय लिएको जनाएको छ।




.gif)





