काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले 'एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८८' को निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई दिएको छ।बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो। निष्कासन गरिने कुल ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरिनेछ। त्यसैगरी, बाँकी रहेको ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख इकाई भने व्यक्तिगत तवर (प्राइभेट प्लेसमेन्ट) बाट बिक्री गरिने बैंकले जनाएको छ।
६ वर्ष अवधिको यस ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ६.२५ प्रतिशतका दरले ब्याज प्राप्त गर्नेछन्। बैंकका अनुसार उक्त ब्याज रकम हरेक ६/६ महिनामा (अर्धवार्षिक रुपमा) भुक्तानी गरिनेछ।ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा एभरेष्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ्ग र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।




.gif)



