काठमाडौँ । ओमप्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालय काठमाडौँले नागरिक सेवा प्रवाहका लागि अवलम्बन गरेको नवीनतम मोडेल देशभरका सरकारी कार्यालयका लागि उत्कृष्ट नमुना भएको बताएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीका साथ जिल्ला प्रशासन कार्यालय, काठमाडौंको सेवा प्रवाहको अवस्थाबारे अनुगमन गर्न पुगेका मन्त्री अर्यालले त्यहाँ लागू गरिएको प्रणाली प्रभावकारी रहेको बताए।
उनले नागरिकले पाउने सरकारी सेवालाई छिटो, सरल र प्रभावकारी बनाउन यो प्रणाली उपयोगी र सान्दर्भिक रहेको उल्लेख गरे।
“नागरिकलाई सहज सेवा प्रवाहका लागि देशैभरि यो प्रणाली मानकका रूपमा अवलम्बन गर्न सकिन्छ। अब आउने सरकारका लागि पनि यो राम्रो अभ्यास बन्न सक्छ,” उनले भने, “७७ वटै जिल्ला र अन्य सेवा प्रवाह हुने कार्यालयमा यो मोडेल विस्तार गर्दा सरसफाइदेखि सेवा प्रवाहसम्म छिटो र व्यवस्थित हुने देखिन्छ।”
मन्त्री अर्यालले उक्त मोडेल प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय तहबीच बलियो समन्वय र सहकार्य आवश्यक रहेको पनि बताए।
यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई थप प्रभावकारी र जनमैत्री बनाउन सार्वजनिक सम्बोधन प्रणाली (पब्लिक एनाउन्समेन्ट सिस्टम) सञ्चालनमा ल्याएको छ। सोमबार आयोजित एक कार्यक्रममार्फत उक्त प्रणाली औपचारिक रूपमा सुरु गरिएको हो।
अनुगमनका क्रममा मन्त्री अर्यालले सेवाग्राहीका गुनासो प्रत्यक्ष रूपमा सुनेका थिए। साथै, उनले त्यहाँ कार्यरत कर्मचारीलाई छिटोछरितो र झन्झट रहित सेवा दिन निर्देशन दिए।
प्रशासनिक कामकारबाहीलाई थप पारदर्शी बनाउनुपर्नेमा जोड दिँदै उनले सेवाग्राहीलाई दुःख दिने बिचौलियाविरुद्ध मन्त्रालयले शून्य सहनशीलताको नीति अपनाएको स्पष्ट पारे।




.gif)





