शिव न्यौपाने, अष्ट्रेलिया, अर्थसमाचार संवाददाता ।
अष्ट्रेलियाको भिक्टोरिया राज्य सरकारले विश्वप्रसिद्ध प्राकृतिक स्थल बाह्र प्रेरितहरूमा जाने पर्यटक र आगन्तुकबाट प्रवेश शुल्क उठाउने योजना अघि बढाएको छ। यसबाट उठ्ने राजस्व समुद्र तटमा पहुँच सुधार, पर्यटक सुविधाको विकास तथा प्राकृतिक स्थलको संरक्षण र मर्मतसम्भारमा खर्च गर्ने सरकारको लक्ष्य छ।
सरकारका अनुसार बढ्दो पर्यटक चापका कारण पूर्वाधार विस्तार र वातावरणीय संरक्षणका लागि अतिरिक्त स्रोत आवश्यक परेको हो। प्रस्तावित शुल्कबाट संकलित रकम स्थानीय पर्यटन व्यवस्थापन, पार्किङ, पदमार्ग, सुरक्षा तथा पर्यटक सेवा सुधारमा प्रयोग गरिने बताइएको छ।
तर प्रस्तावित कानूनलाई लिएर मिश्रित प्रतिक्रिया आएको छ। केही स्थानीय व्यवसायी र पर्यटन निकायहरूले राष्ट्रको सबैभन्दा लोकप्रिय प्राकृतिक स्थलबाट उठ्ने आम्दानी स्थानीय समुदाय र क्षेत्रीय अर्थतन्त्रमा प्रत्यक्ष लाभ पुग्ने गरी व्यवस्थापन हुनुपर्ने तर्क गरेका छन्। उनीहरूको भनाइमा पर्यटकले तिरेको शुल्क स्थानीय पूर्वाधार, रोजगार र पर्यटन व्यवसायको विकासमा प्रयोग हुनुपर्छ।
यद्यपि केही आलोचकहरूले भने पर्यटकमाथि थप आर्थिक भार थोपर्नेभन्दा सरकारले नै सार्वजनिक बजेटबाट संरक्षण र पूर्वाधार विकासका लागि लगानी गर्नुपर्ने बताएका छन्।
नेपालका लागि के सम्भावना ?
अष्ट्रेलियाले जस्तै प्राकृतिक स्थलहरूमा व्यवस्थित प्रवेश शुल्क प्रणाली लागू गर्ने हो भने नेपालले पनि पर्यटनबाट उल्लेखनीय राजस्व संकलन गर्न सक्ने सम्भावना देखिन्छ। नेपालमा सगरमाथा, अन्नपूर्ण सर्किट, रारा ताल, चितवन राष्ट्रिय निकुञ्ज जस्ता विश्वप्रसिद्ध प्राकृतिक गन्तव्यहरू छन्, जहाँ हरेक वर्ष लाखौँ पर्यटक पुग्ने गर्छन्।
यदि यी गन्तव्यहरूमा व्यवस्थित शुल्क प्रणाली लागू गर्दै त्यसबाट प्राप्त राजस्वलाई संरक्षण, पूर्वाधार र स्थानीय समुदायको विकासमा लगानी गरियो भने पर्यटन क्षेत्र अझ सुदृढ हुन सक्छ। साथै यसले प्राकृतिक सम्पदाको दीगो व्यवस्थापनमा पनि सहयोग पुर्याउने विज्ञहरूको भनाइ छ।
पर्यटन विज्ञहरूका अनुसार नेपालले आफ्नो प्राकृतिक सौन्दर्य र जैविक विविधतालाई प्राथमिकताका साथ संरक्षण गर्दै व्यवस्थित पर्यटन नीति अपनाउन सकेमा पर्यटनबाट प्राप्त हुने राजस्व उल्लेखनीय रूपमा बढाउन सकिन्छ। उचित योजना र पारदर्शी व्यवस्थापनका साथ यस्तो मोडेल अपनाए नेपालले पर्यटनलाई आर्थिक विकासको महत्वपूर्ण आधार बनाउन सक्ने सम्भावना देखिन्छ।




.gif)





