images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • राजनीतिक स्थिरताको अपेक्षाले सेयर बजारमा उछाल,...

राजनीतिक स्थिरताको अपेक्षाले सेयर बजारमा उछाल, नेप्सेमा तेस्रो सर्किट ब्रेक

राजनीतिक स्थिरताको अपेक्षाले सेयर बजारमा उछाल, नेप्सेमा तेस्रो सर्किट ब्रेक

images
images
मंगलवार, फाल्गुण २६ २०८२
मंगलवार, फाल्गुण २६ २०८२
  • काठमाडौं । प्रतिनिधिसभा निर्वाचनपछि देखिएको राजनीतिक स्थिरताको अपेक्षाले सोमबार सेयर बजारमा असाधारण उत्साह देखिएको छ। बजार खुलेको केही मिनेटमै तीव्र वृद्धि भएपछि नेप्से परिसूचक ६ प्रतिशतले बढ्दै तेस्रो सर्किट ब्रेक लागेपछि दिनभरका लागि कारोबार बन्द गरिएको हो।

    images
    images

    साताको पहिलो कारोबार दिन बजार खुलेको एक मिनेटमै नेप्से परिसूचक करिब ४ प्रतिशत अर्थात् १०८ अंकले बढ्दै पहिलो सर्किट ब्रेक लाग्यो। नियमअनुसार २० मिनेटपछि पुनः खुलेको बजारमा पनि लगानीकर्ताको खरिद चाप उस्तै रहेपछि एक मिनेटमै दोस्रो सर्किट ब्रेक लाग्यो र कारोबार ४० मिनेटका लागि स्थगित गरियो।

    दोस्रो स्थगनपछि १२ बजेर १ मिनेटमा खुलेको बजारमा पनि तीव्र वृद्धि जारी रह्यो। खुल्नेबित्तिकै नेप्से पुनः उकालो लागेर १२ बजेर १ मिनेट ३७ सेकेन्डमा ६ प्रतिशत अर्थात् १६२.९३ अंकले बढ्दै तेस्रो सर्किट ब्रेक लाग्यो। यससँगै सो दिनका लागि सेयर कारोबार पूर्ण रूपमा बन्द भयो।

    images
    images

    सोमबारको कारोबारपछि नेप्से परिसूचक १६२.९३ अंकले बढेर २८७५.४३ विन्दुमा पुगेको छ। बजारसँग सम्बन्धित अन्य सूचकहरू पनि सकारात्मक देखिएका छन्। सेन्सेटिभ इण्डेक्स २८.११ अंकले बढ्दा फ्लोट इण्डेक्स ११.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ९.९६ अंकले वृद्धि भएका छन्।

    कारोबार समय निकै छोटो भए पनि बजारमा उल्लेख्य रकमको सेयर किनबेच भएको छ। कुल २६१ कम्पनीका ४ हजार ५१ पटकका कारोबारबाट करिब ५५ करोड ५९ लाख रुपैयाँ बराबरको ११ करोड ४३ लाख कित्ता सेयर किनबेच भएको छ।

    मूल्य वृद्धिका हिसाबले केही कम्पनीका सेयरमा उच्च उछाल देखिएको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, शिवश्री हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स र सिटी होटलको सेयर सकारात्मक सर्किट लेभलमा पुगेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशत बढेर १ हजार ७५१ रुपैयाँ पुगेको छ भने शिवश्री हाइड्रोपावरको सेयर १० प्रतिशत बढेर २१३ रुपैयाँ ४० पैसामा कारोबार भएको छ।

    यसदिन करिब ८ कम्पनीको सेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ भने १२ कम्पनीको सेयर मूल्य ९।५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। यद्यपि, समग्र बजार बढिरहेको अवस्थामा पनि एक कम्पनीको सेयर मूल्य भने घटेको छ। रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य १.४९ प्रतिशतले घटेर प्रतिकित्ता ६७५ रुपैयाँ ३० पैसामा झरेको छ।

    कारोबार रकमका आधारमा नारायणी डेभलपमेन्ट बैंक अग्रस्थानमा रहेको छ। सो बैंकको करिब ३ करोड १३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। दोस्रो स्थानमा शिवम् सिमेन्ट्स रहेको छ, जसको करिब २ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै एसवाई प्यानल नेपालको पनि करिब २ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

    समूहगत परिसूचकहरू पनि पूर्ण रूपमा सकारात्मक देखिएका छन्। कारोबारमा आएका सबै १३ उपसमूहको परिसूचक बढेको छ। तीमध्ये व्यापार समूहको परिसूचक सबैभन्दा धेरै ७.७३ प्रतिशतले बढेको छ। लगानी उपसमूह ७ प्रतिशतभन्दा बढीले उकालो लाग्दा बैंकिङ र जलविद्युत उपसमूह पनि करिब ७ प्रतिशतले बढेका छन्। विकास बैंक, वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन लगायत अन्य समूहहरूमा पनि ५ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ।

    विश्लेषकहरूका अनुसार निर्वाचनपछि स्पष्ट राजनीतिक नेतृत्व देखिने संकेत र स्थिर सरकार बन्ने सम्भावनाले लगानीकर्तामा उच्च आत्मविश्वास सिर्जना गरेको छ। मतपरिणामले राष्ट्रिय स्वतन्त्र पार्टी एक्लै सरकार गठन गर्न सक्ने अनुमान सार्वजनिक भएपछि बजारमा सकारात्मक मनोविज्ञान देखिएको हो।

    प्राविधिक सूचकहरूले पनि केही समयदेखि बजारमा सुधारको संकेत दिइरहेका थिए। हालै नेप्सेमा ‘गोल्डेन क्रसओभर’ बनेको छ, जसलाई दीर्घकालीन वृद्धि संकेत गर्ने प्राविधिक सूचक मानिन्छ। यसमा ५० दिने मुभिङ एभरेजले २०० दिने मुभिङ एभरेजलाई माथिबाट काट्दा बजार उकालो लाग्ने सम्भावना बलियो हुने विश्लेषण गरिन्छ।

    यद्यपि, बजारको दीर्घकालीन दिशा भने राजनीतिक घटनाक्रम, नीतिगत सुधार, बैंकहरूको ब्याजदर, बजारमा उपलब्ध तरलता र सूचीकृत कम्पनीहरूको वित्तीय अवस्थाजस्ता कारकले निर्धारण गर्ने विश्लेषकहरूको भनाइ छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend