काठमाडौँ । लगानी समूह अन्तर्गत धितोपत्र दोस्रो बजारमा सूचीकृत नागरिक लगानीकोषले दीर्घकालीन कोष संकलन गर्ने संस्थाका रूपमा पूँजी बजारमा आफ्नै छुट्टै पहिचान बनाएको छ। कोषले नेपालमै पहिलो स्टक डिलर कम्पनीका रूपमा नागरिक स्टक डिलर कम्पनी स्थापना गरी दोस्रो बजारमा सेवा प्रदान गर्दै आएको छ।
लगानी विविधीकरण गर्ने उद्देश्यले कोषले बन्दमुखी प्रकृतिको सामूहिक लगानी कोष योजना सञ्चालनको तयारी समेत गरेको जनाएको छ। हाल कम्पनीको चुक्तापूँजी ६ अर्ब ८० करोड ५७ लाख ९८ हजार रुपैयाँ रहेको छ।
उपलब्ध तथ्याङ्क अनुसार कम्पनीले आर्थिक वर्ष २०६७।६८ देखि लाभांश वितरण सुरु गरेको थियो। त्यसयता हरेक वर्ष कम्पनीले निरन्तर रूपमा लाभांश वितरण गर्दै आएको छ। पहिलो वर्ष कम्पनीले ३५ प्रतिशत लाभांश वितरण गरेको थियो। आर्थिक वर्ष २०६९।७० को नाफाबाट कम्पनीले हालसम्मकै उच्च ५२.६३ प्रतिशत लाभांश वितरण गरेको देखिन्छ।
पछिल्ला केही वर्षमा भने कम्पनीको लाभांश दर केही घटेको छ। पछिल्ला दुई आर्थिक वर्ष २०८०।८१ र २०८१।८२ मा कम्पनीले समान रूपमा १३ प्रतिशत लाभांश वितरण गरेको छ।
हाल दोस्रो बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ८०३ रुपैयाँ कायम छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ६६ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष सोही अवधिसम्म कम्पनीको खुद नाफा ६२ करोड २२ लाख रुपैयाँ थियो। आम्दानी वृद्धि र खर्चमा कमी आएका कारण यस वर्ष नाफा बढेको कम्पनीले जनाएको छ।
गत वर्ष १ अर्ब ३ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले चालू वर्षमा १ अर्ब ६ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। खर्चतर्फ भने गत वर्षको २० करोड ८६ लाख रुपैयाँबाट घटेर यस वर्ष १८ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ।
कम्पनीको जगेडा कोषमा दोस्रो त्रैमाससम्म १२ अर्ब २८ करोड रुपैयाँभन्दा बढी सञ्चित रहेको छ। यस अवधिसम्म कम्पनीले मुद्धती निक्षेपमा १ खर्ब ४५ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ भने कुल लगानी रकम २ खर्ब ९८ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।
हाल कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (EPS) १९ रुपैयाँ ५५ पैसा र प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ४० पैसा रहेको छ।




.gif)





