काठमाडौं । अमेरिका र इरानबीच बढ्दो द्वन्द्वको असर नेपालको पर्यटन तथा होटेल उद्योगमा पनि देखिन थालेको छ। अमेरिका र युरोपबाट मध्यपूर्वी एसिया मार्फत नेपाल आउने पर्यटक उडान अवरुद्ध भएपछि ट्रान्जिटमै रोकिँदा यसको प्रत्यक्ष प्रभाव होटेल व्यवसायमा पर्ने चिन्ता व्यवसायीहरूले व्यक्त गरेका छन्।
सामान्यतया हिउँदमा पर्यटक संख्या कम हुने भए पनि वसन्त ऋतु सुरु भएसँगै पर्यटन सिजन पनि सुरु हुन्छ। तर सिजनको सुरुवातमै मध्यपूर्व क्षेत्रमा युद्धका कारण हवाई उडान प्रभावित हुँदा त्यसको असर नेपालमा देखिन थालेको हो। होटेल संघ नेपालका अध्यक्ष विनायक शाहका अनुसार अमेरिका र युरोपबाट समूहमा आउने पर्यटकहरू ट्रान्जिटमै अलपत्र परेका छन्।
उनले भने, “नेपाल आउने मुख्य प्रवेशद्वार दुबई र दोहा हुन्। अरेबियन एयरस्पेसमा प्रतिबन्ध र उडान अवरोधका कारण पर्यटकहरू आउन सकेका छैनन्, त्यसैले यसको प्रभाव होटेल उद्योगमा देखिन थालेको छ।”
द्वन्द्व चर्किएसँगै नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानहरू पनि प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने करिब ८० प्रतिशत बाह्य उडानमा असर परेको छ। कतार, यूएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइन गरी नौ देशले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि ती देशतर्फका अधिकांश उडान रद्द भएका छन्।
नेपालबाट दैनिक करिब १८ वटा अन्तर्राष्ट्रिय उडान मध्यपूर्वी एसियातर्फ हुने गरेका छन्। नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, बुद्ध एयर ९भारतको बनारससम्म० सहित करिब ३० वायुसेवाले नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन्।
युद्धका कारण अमेरिका र युरोपका पर्यटकहरू ‘वेट एन्ड सी’को अवस्थामा रहेको व्यवसायीहरू बताउँछन्। हालसम्म औपचारिक रूपमा धेरै बुकिङ रद्द नभए पनि उडान अवरुद्ध हुँदा पर्यटकहरू आउन नसकेको अवस्था छ। कतिपय होटेलहरूले पर्यटकलाई १०–१५ दिन ढिला आए पनि अतिरिक्त शुल्क नलिने सूचना सार्वजनिक गरेका छन्। एयरलाइन्सहरूले पनि टिकट सार्दा अतिरिक्त शुल्क नलिएको जानकारी दिइएको छ।
वैकल्पिक हवाई मार्ग खोज्ने प्रयास पनि भइरहेको छ। टर्किस एयरलाइन्समार्फत अफगानिस्तान वा रसिया हुँदै आउने विकल्पबारे छलफल भइरहेको छ। साथै अमेरिका बाट जापान, दक्षिण कोरिया वा हङकङ हुँदै नेपाल आउने सम्भावनाबारे पनि विचार भइरहेको छ।
हाल पर्वतारोहण सिजन सुरु भएकाले लामो समयसम्म द्वन्द्व जारी रहे यसको असर पर्यटन क्षेत्रमा थप देखिन सक्ने व्यवसायीहरूको अनुमान छ। यद्यपि युद्ध कति समयसम्म लम्बिन्छ भन्ने स्पष्ट नभएकाले प्रभावको वास्तविक आँकलन गर्न अझै कठिन रहेको उनीहरू बताउँछन्।
कोभिड–१९ महामारीपछि बिस्तारै पुनरुत्थानको चरणमा पुगेको पर्यटन क्षेत्र अझै पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन। नेपालका होटेलहरू वार्षिक करिब ३५ लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता भए पनि सोअनुसार बजार विस्तार हुन सकेको छैन। सन् २०२५ मा करिब ११ लाख ५० हजार पर्यटक नेपाल भित्रिएका थिए भने चालु आर्थिक वर्षमा करिब १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ।
यसबीच हालै सम्पन्न शान्तिपूर्ण निर्वाचनपछि बनेको नयाँ सरकारप्रति पर्यटन क्षेत्र आशावादी देखिएको छ। व्यवसायीहरूका अनुसार राजनीतिक स्थिरता र सकारात्मक अन्तर्राष्ट्रिय सन्देशले आगामी दिनमा पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्न सक्छ।
यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले पनि मध्यपूर्व क्षेत्रमा देखिएको हवाई प्रतिबन्धलाई ध्यानमा राख्दै यात्रुहरूलाई विशेष सूचना जारी गरेको छ। सूचनामा मध्यपूर्व हुँदै तेस्रो मुलुक जाने यात्रुहरूले सम्बन्धित एयरलाइन्ससँग उडान बुकिङ पुष्टि भएपछि मात्र विमानस्थल आउन अनुरोध गरिएको छ।
उडान तालिका अनिश्चित हुन सक्ने भएकाले यात्रुहरूले अनावश्यक सास्ती भोग्न नपरोस् भनेर विमानस्थल आउनुअघि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गरी आधिकारिक जानकारी लिन आग्रह गरिएको छ।




.gif)





