images

२०८३ आश्विन १८ गते

images
images
images

दुई पाडीबाट आचार्यले थालेको भैँसीपालन व्यावसायिकतातर्फ

दुई पाडीबाट आचार्यले थालेको भैँसीपालन व्यावसायिकतातर्फ

images
images
आइतवार, फाल्गुण १० २०८२
आइतवार, फाल्गुण १० २०८२
  • गण्डकी, १० फागुन । आजभन्दा सात वर्षअघि पोखरा महानगरपालिका–३३ भरतपोखरीका रमेश आचार्यले दुई पाडीबाट सुरु गरेका भैँसीपालनले यतिखेर व्यावसायिक रूप लिएको छ । समाजमा कृषिप्रतिको नकारात्मक सोच कायमै रहेका समयमा स्नातकोत्तरसम्मको अध्ययन गरेका उनले भरतपोखरीस्थित सुरौदीको तिखेढुङ्गामा दुई पाडी पाल्न सुरु गरेका थिए । 

    images
    images

    आचार्यलाई तत्कालीन समयमा आफ्नै छिमेकी, इष्टमित्र समेतले के गरेको होला भनेर होच्याउँथे, कुरा काट्ने गर्थे । तर समय बदलिएको छ, त्यसबेला होच्याउने र खिस्सीट्युँरी गर्नेहरू अहिले भने उनको फस्टाइरहेको भैँसीपालनसहितको व्यावसायिक कृषि कर्म देखेर लोभिएका छन् । भैँसीपालनले व्यावसायिक रूप लिँदा आचार्य आफैँ आफ्नो पेसाप्रति गौरवान्वित छन । पाडी पाल्न सुरु गर्दा तिखेढुङ्गामा केवल झाडीमात्र रहेको र त्यसलाई फाँडेर पाल टाँगेर बसेको उनले अनुुभव सुनाए ।

    “वरपर जङ्गलको बीचमा पाल टाँगेर मैले यो व्यवसाय सुुुरु गरेको हुँ”, आचार्यले भने, “पछि गोठ तथा धन्सार बनाएर त्यसलाई व्यवस्थित गर्दै लगेँ, अहिले गोठमा ३०  भैँसी छन् ।”

    images
    images

    पछिल्ला समयमा हरेक वर्ष लैनो भैँसी बेच्ने गरेको आचार्यले बताए । उनले अघिल्लो वर्ष १८ लैनो भैँसी बेचे । भैँसी बिक्री गर्न समस्या छैन । सामान्यतः एउटा लैनो भैँसी रु एक लाखसम्ममा बिक्री हुने गरेको छ । स्नातक तहसम्मको अध्ययन गर्नुभएका आचार्य आफ्नो १० वर्षको शिक्षण पेसा, तीन वर्षको वैदेशिक रोजगारीसँगै विद्युत् प्राविधिक समेतको अनुभव सगाल्दै अहिले पूर्ण रूपमा व्यावसायिक कृषिमा लागेका छन । 

    विसं २०७८ मा तिखेढुङ्गा बागमारा पशुपालन तथा कृषि फार्म दर्ता गरी व्यावसायिक कृषि कर्ममा लागेका आचार्यले भैँसीपालनसँगै व्यावसायिक रूपमा तरबुजाखेती सहित तरकारी, फलफूल तथा विभिन्न कृषिजन्य उत्पादन गर्दै आउनुभएको छ । फार्ममा उहाँले हाल मकैखेती, तरबुजा, काँक्रो, लसुन, प्याज लगायत गरिरहेका छन । आचार्यले सुरुमा २०७६ सालमा साना किसानबाट रु तीन लाख ऋण लिएर व्यावसायिक कृषि थालेकामा पछि फार्म दर्ता भएपश्चात कृषि विकास बैंकबाट ऋण लिएर आफ्नो व्यावसायिक यात्रा सुरु गरेका हुन । 

    व्यावसायिक कृषिमा नयाँनयाँ प्रयोग गर्न रुचाउने आचार्यले सुरुमा १५–२० बोट तरबुजाखेती परीक्षणका रुपमा गरे। अर्को वर्ष दुई रोपनी क्षेत्रफलमा थपे । राम्रो उत्पादन दिएपछि अघिल्लो वर्ष करिब ३५ रोपनी क्षेत्रफलमा संयुुक्त रूपमा उक्त खेती गरे । श्रीमती धनलक्ष्मी तथा स्नातक तहमा अध्ययनरत छोराछोरीको साथले आचार्य आफ्नो कृषिकर्मप्रति उत्साहित छन । सुरौदी खोलाको बाढीले बर्सेनि कटान भइरहेकाले नियन्त्रणसँगै यहाँको पानीलाई सिँचाइका लागि उपयोग गरिनुुपर्ने उनी बताउछन ।

    खोलामा पक्की पुल तथा बाटो व्यवस्थित नहुँदा दूध बजारसम्म पुर्याउन नसकिएको आचार्यले दुःखेसो गरे । बाँदरको समस्या सुरौदीमा पनि उस्तै छ । फार्ममा उत्पादित कृषिजन्य वस्तु भरतपोखरीमा नै खपत हुने गरेको आचार्यको भनाइ छ । सुरौदीसम्मको  बाटो थप व्यवस्थित गर्नुका साथै टुनिखोलामा पुल बन्न सके उत्पादित वस्तु पोखरा तथा तनहुँको दुलेगौँडा पुर्याउन सहज हुने उनले बताए।

    सुरौदी खोला क्षेत्रमा पानीको स्रोत भएर पनि त्यसलाई व्यवस्थित गर्न नसक्दा सिँचाइको असुविधा भोग्नुपरेको आचार्य बताए। व्यवस्थित गर्न सकेमात्रै पनि यहाँ उपलब्ध पानीको स्रोतलाई उत्पादनसँग जोड्न सकिने उनले बताए। सुरौदी खोलाको कटान नियन्त्रण हुन नसक्दा उब्जाउयोग्य जमिन बर्सेनि बगरमा परिणत हुँदै जाँदा जलाधार क्षेत्रका स्थानीयवासी समस्यामा परेको आचार्यको भनाइ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend