काठमाडौँ । हिन्दु धर्मावलम्बीहरूको महान पर्व महाशिवरात्रिको अवसरमा देशभरका शिवालयहरूमा शिवधुनी जगाइएको छ । श्रद्धालुहरूले भगवान शिवप्रति आस्था प्रकट गर्दै मन्दिर तथा घरघरमा धुनी बालेर रातभर जागराम बसेका छन् ।
विशेषगरी पशुपतिनाथ मन्दिर क्षेत्रमा साधुसन्त र भक्तजनहरूको उल्लेखनीय उपस्थिति देखिएको छ । त्यहाँ ठूला–ठूला धुनी प्रज्वलन गरी भजनकीर्तन तथा शिव महिमाको गायन गरिएको थियो । देशका अन्य प्रमुख शिवालयहरूमा पनि भक्तजनहरूको भीड लागेको छ ।
धार्मिक विश्वासअनुसार शिवधुनीलाई भगवान शिवको दिव्य ज्योतिको प्रतीक मानिन्छ । शिवरात्रिको पावन रातमा धुनी जगाउँदा मन शुद्ध हुने, पाप नष्ट हुने तथा नकारात्मक ऊर्जा हट्ने जनविश्वास छ । धुनीको खरानीलाई प्रसादका रूपमा ग्रहण गर्ने परम्परा पनि रहिआएको छ, जसले शिवको आशीर्वाद प्राप्त हुने विश्वास गरिन्छ ।
महाशिवरात्रिका अवसरमा सुरक्षा व्यवस्था कडा पारिएको थियो भने विभिन्न संघसंस्थाले भक्तजनका लागि पानी, फलफूल तथा प्रसाद वितरणको व्यवस्था गरेका थिए ।
यस पर्वले देशभर धार्मिक तथा आध्यात्मिक वातावरण सिर्जना गर्नुका साथै आपसी सद्भाव र एकताको सन्देश दिएको छ ।




.gif)





