images

२०८३ आश्विन १८ गते

images
images
images

रु दुई करोडको लागतमा मणिकाधाममा भजन हल निर्माण

रु दुई करोडको लागतमा मणिकाधाममा भजन हल निर्माण

images
images
मंगलवार, माघ २० २०८२
मंगलवार, माघ २० २०८२
  • कञ्चनपुर, २० माघ । शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीस्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिकाधाममा पर्यटन विभागको रु दुई करोड ४३ लाख ६२ हजार ६४९ को लागतमा निर्माणाधीन आधुनिक भजन हलको काम अन्तिम चरणमा पुगेको छ ।

    images
    images

    ठेक्का प्रक्रियामार्फत निर्माण कम्पनीले हल निर्माणको जिम्मा लिएको हो । निर्माण सेवाका सञ्चालक केशवराज भट्टका अनुसार हालसम्म करिब ९० प्रतिशत निर्माणकार्य सम्पन्न भइसकेको छ । निर्माणाधीन स्टेज सहितको उक्त हलमा ४०० भन्दा बढी भक्तजन अट्ने क्षमता रहेको उहाँले जानकारी दिनुभयो ।

    उहाँका अनुसार हलसँगै एक कार्यालय कक्ष, सामग्री भण्डारणका लागि ‘स्टोर रुम’ र बरन्डा निर्माण गरिएको छ । हल निर्माणमा पूर्ण रूपमा मेसिनले कटिङ गरिएका ढुङ्गाको प्रयोग गरिएको छ । हाल रङरोगन, टायल बिछ्याउने तथा विद्युत् वायरिङको काम सम्पन्न भइसकेको छभने ‘बाउन्ड्रीवाल’, गेट तथा अपाङ्गतामैत्री महिला–पुरुष शौचालय निर्माणको काम अन्तिम चरणमा छ ।

    images
    images

    गत असारदेखि सुरु भएको निर्माणकार्य आगामी फागुन २० गतेभित्र सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ । मणिकाधाम धार्मिक क्षेत्रमा भारत र नेपालका भक्तजन मुड्का बाबाको दर्शनका लागि पुग्ने गर्दछन् । यसअघि भजनकीर्तन तथा धार्मिक कार्यक्रम गर्न उपयुक्त हल नहुँदा समस्या हुँदै आएको बताउँदै धाम क्षेत्रका भडरिया डम्बरबहादुर ऐरले नयाँ हल निर्माणपछि धार्मिक गतिविधि सञ्चालन गर्न सहज हुनुका साथै टाढाबाट आएका भक्तजनलाई बसोबासमा पनि सुविधा पुग्ने बताउनुभयो ।

    विद्युत् विस्तार नहुँदा रातिको समयमा भक्तजनले अन्धकारमा सास्ती भोग्दै आएको उल्लेख गर्दै शुक्लाफाँटा नगरपालिका–९ का वडाध्यक्ष रमेशबहादुर ऐरले पुल विद्युतीकरण कार्यक्रमअन्तर्गत विद्युत् विस्तारको काम सुरु भइसकेको जानकारी दिनुभयो । “लाइन विस्तारकार्य पूरा भएको छ, केही दिनभित्रै विद्युत् जडानकार्य पूरा गरी धाम क्षेत्रलाई झिलीमिली बनाउँछौँ”, उहाँले भन्नुभयो ।

    यस क्षेत्रमा पुग्न गतिलो सडक नहुँदा भने धार्मिकजनले सास्ती खेप्दै आएका छन् । कच्ची सडकलाई स्तरोन्नति नगरिँदा हिलाम्मे र धुलाम्मे सडकमा धार्मिकजनले पुग्नुपर्ने बाध्यता छ । यस क्षेत्रलाई थारू समुदायले ‘मुड्का’ नामले चिन्ने गर्छन् । थारू भाषामा ‘मुड’ को अर्थ शिर हुने र यस क्षेत्रको सबैभन्दा अग्लो स्थानमा बैजनाथ बाबाको स्थापना भएकाले ‘मुड्का’ नाम प्रचलनमा आएको स्थानीयको भनाइ छ । पछि यही नाम विकसित हुँदै मणिकाधामका रूपमा परिचित भएको हो ।

    पूर्वपश्चिम राजमार्गको कलुवापुर वा झलारी हुँदै सवारीसाधनबाट करिब आधा घण्टामा पुग्न सकिने यो स्थल स्थानीयमात्र नभई बाहिरी पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्दै गएको छ ।रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend