भोजपुर । भोजपुर सदरमुकाम नजिकै रहेको काफ्ले डाँडालाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने काम तीव्र रूपमा अघि बढाइएको छ। भोजपुर नगरपालिका–९ मा पर्ने यस स्थानलाई आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी संरक्षण र पूर्वाधार निर्माण भइरहेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिए।
वडाको ६ लाख रुपैयाँ र प्रदेश सरकारको १० लाख रुपैयाँ गरी कुल १६ लाख रुपैयाँको लागतमा काफ्ले डाँडामा दुईतर्फबाट बारासहितको पैदलमार्ग, धारा, शौचालय तथा पिकनिक स्थल निर्माण गरिएको छ। काफ्ले डाँडा सुन्दर प्राकृतिक दृश्यसँगै सदरमुकाम नजिकै रहेकाले पर्यटक आकर्षणको उच्च सम्भावना रहेको वडाध्यक्ष तामाङले बताए।
“हामी काफ्ले डाँडालाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दैछौँ। उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गरेर आवश्यक संरचना निर्माण गरेका छौँ,” उनले भने।
यस आर्थिक वर्षमा थप संरचना निर्माणका लागि वडाले १ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। काफ्ले डाँडालाई अझ आकर्षक बनाउने उद्देश्यले बुद्धको मूर्ति स्थापना गर्ने र दुईतर्फबाट सुरक्षित पैदलमार्ग निर्माण गर्ने योजना रहेको वडाध्यक्ष तामाङले जानकारी दिए। यद्यपि बजेट अभावका कारण केही काम अझै अधुरो रहेको उनको भनाइ छ।
काफ्ले डाँडाबाट भोजपुर बजार, आसपासका बस्ती, हरियाली वनक्षेत्र तथा टाढासम्म फैलिएका हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ। यही कारण यहाँ दैनिक रूपमा घुमफिर तथा फोटो खिच्न आउनेको संख्या बढ्दो क्रममा रहेको छ। विशेषगरी बिदाका दिन, नयाँ वर्ष तथा फूल फुल्ने मौसममा यहाँ आगन्तुकको उल्लेख्य चहलपहल देखिने गरेको स्थानीयले बताएका छन्।
पर्यटन व्यवसायीहरूले काफ्ले डाँडाको प्रभावकारी व्यवस्थापन र प्रचार–प्रसार गर्न सकिएमा स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।




.gif)





