images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • सुन तोलाको तीन लाख नजिक, नेपाली...

सुन तोलाको तीन लाख नजिक, नेपाली बजारमा ऐतिहासिक उच्च मूल्य

सुन तोलाको तीन लाख नजिक, नेपाली बजारमा ऐतिहासिक उच्च मूल्य

images
images
बिहिवार, माघ ८ २०८२
बिहिवार, माघ ८ २०८२
  • काठमाडौँ, ८ माघ । नेपाली बजारमा सुन र चाँदीको मूल्यले हालसम्मकै उच्च कीर्तिमान बनाएको छ। बुधबार सुनको मूल्य एकै दिन तोलामा १० हजार ४ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

    images
    images

    चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढ्दै ५ हजार ९ सय २० रुपैयाँ पुगेको छ, जुन चाँदीको इतिहासमै उच्च मूल्य मानिएको छ। चार दिनमै अस्वाभाविक वृद्धि गत आइतबारदेखि सुनको मूल्य निरन्तर उकालो लागेको छ। आइतबार तोलामा ६ सय, सोमबार ४ हजार २ सय, मंगलबार २ हजार ७ सय र बुधबार एकै दिन १० हजार ४ सय रुपैयाँले मूल्य बढ्यो। यसरी चार दिनमै सुनको मूल्य तोलामा १७ हजार ३ सय रुपैयाँले बढ्दा बजारमा अस्वाभाविक दबाब सिर्जना भएको व्यवसायीहरू बताउँछन्।

    अन्तर्राष्ट्रिय बजारको प्रत्यक्ष प्रभाव नेपालमा सुनको मूल्य निर्धारण पूर्णरूपमा अन्तर्राष्ट्रिय बजारमा आधारित हुने भएकाले विश्व बजारको सानो उतारचढावले पनि यहाँ ठूलो असर पार्ने गर्दछ। बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस करिब ४ हजार ७ सय अमेरिकी डलर आसपास कारोबार भएको थियो भने चाँदी प्रतिऔंस करिब ९५ डलर नजिक पुगेको थियो। नेपालमा सुन उत्पादन नहुने र सम्पूर्ण रूपमा आयातमा निर्भर रहनु नै मूल्यवृद्धिको प्रमुख कारण हो।

    images
    images

    डलरको विकल्पका रूपमा सुनतर्फ आकर्षण पछिल्लो समय विश्वका ठूला अर्थतन्त्रहरू अमेरिकी डलरको विकल्प खोज्दै सुनतर्फ आकर्षित भएका छन्। चीन, रुस, भारत, टर्की, ब्राजिललगायत देशका केन्द्रीय बैंकहरूले विदेशी मुद्रा सञ्चितिमा डलरको हिस्सा घटाउँदै सुनको सञ्चिति बढाएका छन्। केन्द्रीय बैंकहरू स्थायी र ठूलो खरिदकर्ता भएकाले उनीहरूको सक्रियताले सुनको माग दीर्घकालीन रूपमा बढाएको विश्लेषकहरूको भनाइ छ।

    विशेषगरी ब्रिक्स राष्ट्रहरू अमेरिकी डलरमा निर्भरता घटाउने रणनीतिअन्तर्गत सुनलाई सुरक्षित रिजर्भ सम्पत्तिका रूपमा लिइरहेका छन्। रुसमाथि लगाइएका पश्चिमी प्रतिबन्धपछि डलर र युरोमा राखिएका विदेशी मुद्रा भण्डार जोखिममा पर्न सक्ने डरले भौतिक सुनप्रति आकर्षण बढेको हो।

    भू–राजनीतिक तनाव र आर्थिक अनिश्चितता युक्रेन–रुस युद्ध, मध्यपूर्वको तनाव, अमेरिका–चीन व्यापार द्वन्द्व तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आक्रामक व्यापार र विदेश नीतिले विश्व अर्थतन्त्रमा अनिश्चितता बढाएको छ। यस्तो अवस्थामा लगानीकर्ताहरू जोखिमपूर्ण क्षेत्रमा रहेको पुँजी निकालेर सुन र चाँदीजस्ता सुरक्षित सम्पत्तितर्फ आकर्षित भएका छन्।

    त्यसैगरी, विश्वका धेरै देशहरू उच्च मुद्रास्फीतिको चपेटामा परेका छन्। मुद्रास्फीति बढ्दा कागजी मुद्राको मूल्य घट्ने डरले सुनलाई दीर्घकालीन मूल्य संरक्षण गर्ने साधनका रूपमा लिइन्छ। अमेरिकी केन्द्रीय बैंकसहित अन्य केन्द्रीय बैंकहरूले ब्याजदर घटाउने सम्भावना देखिनुले पनि सुनतर्फ लगानी बढेको छ।

    नेपाली अर्थतन्त्रमा बहुआयामिक असर सुनको मूल्य वृद्धिले नेपाली अर्थतन्त्रमा मिश्रित असर पारेको छ। एकातिर, ढिक्का सुनमा लगानी गर्नेहरूले छोटो अवधिमै राम्रो नाफा कमाएका छन्। गत पुस ७ गते सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ थियो। एक महिनामा सुनको मूल्य तोलामा ३३ हजार ४ सय रुपैयाँले बढेको छ, जुन करिब १३ प्रतिशत प्रतिफल हो।

    तर अर्कोतर्फ, उपभोक्ता र गहना व्यवसायीहरू दबाबमा परेका छन्। विवाह, चाडपर्व तथा सामाजिक समारोहका लागि गहना किन्ने क्षमता घटेको व्यवसायीहरूको भनाइ छ। “पहिले २० तोलाको गहना किन्ने ग्राहक अहिले ५–७ तोलामै सीमित भएका छन्,” काठमाडौंका एक सुन व्यवसायीले बताए।

    लगातार मूल्य बढिरहे पनि बजारको समग्र कारोबार भने अपेक्षाकृत मन्द नै रहेको छ। महासंघका अनुसार मंसिरपछि अपेक्षित बिक्री नहुँदा बैंकहरूमा उल्लेख्य मात्रामा सुन स्टक बसेको थियो। पुस अफसिजन भएकाले आयात पनि कम थियो। यद्यपि पछिल्लो मूल्यवृद्धिसँगै कारोबारमा केही चहलपहल देखिए पनि उपभोक्ता अझै सतर्क देखिन्छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend