images

२०८३ आश्विन १६ गते

images
images
images

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

images
images
बिहिवार, माघ ८ २०८२
बिहिवार, माघ ८ २०८२
  • बरहथवा (सर्लाही), ८ माघ । आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई करोडभन्दा बढीको आधुनिक उपकरण हस्तान्तरण गरेको छ। 

    images
    images

    बुधबार एक औपचारिक कार्यक्रमबीच मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले केन्द्रलाई रु दुई करोड २० लाख २१ हजार ८६० बराबरको अत्याधुनिक उपकरण हस्तान्तरण गर्नुभयो । 

    स्तरोन्नतिका लागि लालबन्दी नगरपालिका–५, जरुवा पानीमा सञ्चालन भइरहेको सामुदायिक परोपकार आँखा उपचार केन्द्रलाई उपकरण हस्तान्तरण गरिएको लायन्स क्लब इन्टरनेसनलका डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले बताउनुभयो । 

    images
    images

    क्लबले आँखाको शल्यक्रिया गर्न मिल्ने फेको सर्जरी मेसिनसहित माइक्रोस्कोप, ल्याम्पलगायत उपकरण प्रदान गरेको छ । केन्द्रको स्तरोन्नतिपछि यहाँका नागरिकले काठमाडौँस्थित तिलगङ्गा आँखा उपचार केन्द्र बराबरको सुविधा प्राप्त गर्ने क्लबका डाइरेक्टर बुर्लाकोटीको भनाइ छ । आँखामा भएका सम्पूर्ण समस्याको उपचार अब केन्द्रबाटै गर्न सकिने उहाँले बताउनुभयो । 

    नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीको सुविधासम्पन्न भवनमा उपकरण जडान गरी केन्द्रले सेवा सञ्चालन गर्न लागेको छ । कार्यक्रममा मुख्यमन्त्री यादवले केन्द्रको उद्घाटनसमेत गर्नुभयो । 

    त्यस अवसरमा लालबन्दी रेडक्रसका सभापति ध्रुवप्रसाद घिमिरेले फेको मेसिनबाट शल्यक्रियासहित उपचार सुरु गर्ने योजना रहेकाले जतिसक्दो चाँडो चिकित्सक र प्राविधिकको व्यवस्थापन गरी दिन प्रदेश सरकारसमक्ष अनुरोध गर्नुभयो । 

    मुख्यमन्त्री यादवले प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएको विकृति सुधारका लागि कडा कदम चाल्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गीलाल रायलाई निर्देशन दिनुभयो। उहाँले नागरिकको नैसर्गिक अधिकारका रूपमा रहेको स्वास्थ्य क्षेत्रमा रहेका लापरबाही नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । 

    आँखा उपचार केन्द्रलाई अत्याधुनिक उपकरण दिएर प्रदेशकै स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएको भन्दै मुख्यमन्त्री यादवले लायन्स क्लबप्रति आभार प्रकट गर्नुभयो । 

    प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री रायले आँखा उपचार केन्द्रका लागि दक्ष प्राविधिक प्रदेश सरकारका तर्फबाट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले लालबन्दीमा ट्रमा सेन्टर स्थापना गर्ने योजनासहित आवश्यक बजेट विनियोजन गरिने बताउनुभयो । 

    प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री बेची लुङ्गेलीले उपकरणको सही सदुपयोग गरी आँखा रोगीले नियमित सेवा पाउने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

    केन्द्रले सर्लाही, महोत्तरी, रौतहट, सिन्धुली तथा भारत विहारका गरी करिब १० लाख आँखाका बिमारीलाई उपचार सेवा प्रदान गर्ने लक्ष्य राखेको लायन्स क्लब लालबन्दीका पूर्वअध्यक्ष राजकुमार न्यौपानेले बताउनुभयो । उपकरण हस्तान्तरण कार्यक्रममा लालबन्दी नगरपालिका प्रमुख वासुदेव अधिकारी, हरिपुर नगरपालिका प्रमुख गोपाल पञ्जियार, पूर्वस्वास्थ्य राज्यमन्त्री राम सिंह, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष विनोदकुमार शर्मालगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend