धादिङ, १ माघ । माघे सङ्क्रान्तिको अवसरमा धादिङ जिल्लाका विभिन्न स्थानमा परम्परागत रूपमा एक सय हल गोरु जुधाइएको छ । कृषि कर्ममा प्रयोग हुँदै आएका गोरुलाई माघे सङ्क्रान्तिका दिन जुधाउने सांस्कृतिक परम्पराअनुसार प्रतियोगितात्मक रूपमा गोरु जुधाइएको हो ।
आयोजकका अनुसार त्रिपुरासुन्दरी गाउँपालिकाको मूलपानीमा १४, लाइगाउँमा १०, नीलकण्ठ नगरपालिका–९ धुवाकोटको खाल्टेमा सात, मर्स्याङछापमा पाँच, सुनौलाबजारमा आठ, खनियाबास गाउँपालिकाको दार्खामा १७, मार्पकमा चार, फुलखर्कमा ११, बुढाथुममा नौ तथा ज्वालामुखी गाउँपालिकाको मैदीमा छ हल गोरु जुधाइएका छन् ।
मूलपानीका स्थानीय शम्भु थापाका अनुसार गोरु जुधाउने परम्परासँग ऐतिहासिक महत्व जोडिएको छ । रसुवा, नुवाकोट र धादिङ जिल्लामा प्रचलित यो परम्परा नेपाल र तिब्बतबीचको भोट सन्धि १९४९ सँग सम्बन्धित रहेको विश्वास गरिन्छ । बझाङ्गी राजा पृथ्वीबहादुर सिंहको स्वागतका लागि माघे सङ्क्रान्तिमा गोरु जुधाएर परम्पराको थालनी गरिएको किम्बदन्ती रहेको जानकारहरू बताउँछन् ।
पहिले छिमेकीबीच मनोरञ्जनका रूपमा गरिँदै आएको गोरु जुधाइ पछिल्ला वर्षहरूमा प्रतियोगितात्मक रूपमा सञ्चालन हुँदै आएको छ । उमेर र आकारका आधारमा साँढे गोरु छनोट गरी जुधाइने गरिन्छ । प्रतियोगितामा पहिला भाग्ने गोरुलाई पराजित मानिन्छ ।
वर्षभर खेतबारी जोतेर हिउँदमा बलियो बनाइएका गोरुलाई मनोरञ्जनका लागि जुधाइने यो परम्परा अहिले भेटघाट, मेलमिलाप र मित्रता नवीकरण गर्ने अवसरका रूपमा पनि विकास हुँदै गएको मैदीकी सुशीला विश्वकर्माले बताईन।
ऐतिहासिक प्रमाण नपाइए पनि गोरु जुधाइको परम्परा एक सय वर्षभन्दा पुरानो मानिन्छ । माघे सङ्क्रान्ति भनेपछि नेपालमा गोरु जुधाइने पर्वका रूपमा चिनिन थालेको छ ।




.gif)





