काठमाडौँ — काठमाडौं महानगरपालिकाले गएको पाँच आर्थिक वर्षको तुलनामा चालु आवको बजेट खर्चमा सुधार गरेको तथ्यांक सार्वजनिक गरेको छ । महानगरको वित्त विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा विनियोजित २४ अर्ब २० करोडमध्ये १२ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी अर्थात् ५१ प्रतिशत बजेट खर्च गरेको हो ।
नीति र योजनाबद्ध कार्यक्रम कार्यान्वयन गरिएकाले चालु आवमा खर्च बढेको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । उनी भन्छन्, ‘योजना र कार्यक्रमलाई प्राथमिकीकरण गरिएका कारण पनि प्रगति हासिल गर्न सहज भयो ।’आर्थिक वर्ष २०७६/७७ मा १२ अर्ब ९८ करोड रुपैयाँ बजेट विनियोजन गरेकामा ६ अर्ब ४५ करोड रुपैयाँ मात्र खर्च भएको थियो । यो भनेको ४९ प्रतिशत मात्र हो ।
आव २०७७/७८ मा ३६ र आव २०७८/७९ मा ४४ प्रतिशत मात्र बजेट खर्च भएको थियो । आव २०७७/७८ मा १५ अर्ब ५६ करोड कुल बजेटमा ५ अर्ब ७० करोड र कोभिड महामारीको समय अर्थात् आव २०७८/७९ मा १६ अर्ब ५२ करोड कुल बजेटमा ७ सय ३१ करोड रुपैयाँ खर्च भएको थियो ।
आर्थिक वर्ष २०७९/८० मा २२ अर्ब ८३ करोड रुपैयाँको ल्याइएको थियो । त्यसमा ४० प्रतिशत मात्र अर्थात् ९ अर्ब १८ करोड खर्च भएको थियो । चालु आर्थिक वर्षमा भने चालु, पुँजीगत र वित्तीय खर्चमा सुधार देखिन्छ । चालु आर्थिक वर्षमा चालूतर्फ ५ अर्ब अर्थात् ६४ प्रतिशत, पुँजीगततर्फ ६ अर्ब अर्थात् ४२ प्रतिशत र वित्तीयतर्फ ५ करोड रुपैयाँ अर्थात् शतप्रतिशत नै खर्च भएको छ ।




.gif)





