काठमाडौं, माघ १ । हिमाली जिल्ला रसुवामा चालु आर्थिक वर्षको साउन देखि पुस मसान्त सम्म ३२ हजार ६७२ पर्यटकको आगमन भएको छ। लाङटाङ राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने ऐतिहासिक तथा धार्मिक महत्वको गोसाइँकुण्ड र प्राकृतिक सौन्दर्यले भरिपूर्ण लाङटाङ क्षेत्र पर्यटकको मुख्य आकर्षण बनेका छन्।
लाङटाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार पछिल्लो छ महिनामा ५ हजार ८८४ विदेशी र २६ हजार ७८७ आन्तरिक पर्यटकले गोसाइँकुण्ड तथा लाङटाङ क्षेत्रको भ्रमण गरेका छन्। चालु आर्थिक वर्षमा पर्यटक संख्या ५० हजार पुग्ने अनुमान गरिएको छ। गत आर्थिक वर्षमा करिब ४४ हजार पर्यटकले रसुवा भ्रमण गरेका थिए।
निकुञ्जका अभिलेखकर्ता केशव ढडारीका अनुसार विदेशी पर्यटकबाट प्रतिव्यक्ति ३ हजार र नेपाली पर्यटकबाट १ सय रुपैयाँ प्रवेश शुल्क लिने व्यवस्था छ। यस अवधिमा प्रवेश शुल्कमार्फत कुल २ करोड ३९ लाख ८८ हजार ६६० रुपैयाँ राजस्व संकलन भएको छ।
काठमाडौं उपत्यकाबाट नजिकै रहेको रसुवामा पर्यटकको आवागमन बढेसँगै गोसाइँकुण्ड, लाङटाङ र स्याफ्रु क्षेत्रका होटल व्यवसायी, किसान, मजदुर तथा स्थानीय समुदाय प्रत्यक्ष लाभान्वित भएका छन्। जिल्लास्थित नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार पर्यटन गतिविधि बढ्दा स्थानीय अर्थतन्त्र चलायमान भएको छ।
पर्यटन पूर्वाधार, सेवा सुविधा र प्रवर्द्धनलाई थप व्यवस्थित गर्न सके रसुवा जिल्लाले आगामी दिनमा अझ बढी पर्यटक भित्र्याउने र स्थानीय रोजगारी तथा आम्दानी वृद्धि गर्ने सम्भावना देखिएको छ।




.gif)





