काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का गभर्नेन्स तथा भ्रष्टाचार निदान (गभर्नेन्स एण्ड करप्सन डायग्नोस्टिक) मिशन प्रमुख जोनाथन पाम्पोलिनाबीच सोमबार प्रारम्भिक बैठक सम्पन्न भएको छ।बैठकमा आईएमएफको ‘गभर्नेन्स एण्ड करप्सन डायग्नोस्टिक’ मिशनको उद्देश्य, कार्यक्षेत्र र समग्र कार्ययोजना विषयमा विस्तृत छलफल भएको थियो। यस कार्यक्रम अन्तर्गत नेपाल राष्ट्र बैंक र सम्बन्धित निकायमा व्यवस्थापन, पारदर्शिता र जवाफदेहितासँग सम्बन्धित सुधारका अवसरहरू पहिचान गर्ने लक्ष्य राखिएको छ।
भेटका क्रममा गभर्नर प्रा.डा. पौडेलले नेपालको आर्थिक तथा वित्तीय क्षेत्रलाई थप पारदर्शी र सुशासित बनाउन राष्ट्र बैंक प्रतिबद्ध रहेको उल्लेख गर्दै, आईएमएफको प्राविधिक विश्लेषणले नीतिगत सुधार र भ्रष्टाचार नियन्त्रणका प्रयासलाई थप बल प्रदान गर्ने विश्वास व्यक्त गरे।मिशन प्रमुख पाम्पोलिनाले यस निदानले नेपालको वित्तीय सुशासन, पारदर्शिता र संस्थागत संरचनामा रहेका चुनौतीहरूको पहिचान गरी सुधारका लागि आवश्यक मार्गचित्र तयार पार्ने जानकारी दिएका थिए।
आईएमएफको यो मिशन विशेष गरी सार्वजनिक वित्त व्यवस्थापन, वित्तीय क्षेत्रको नियमन र भ्रष्टाचार विरोधी कानुनी संरचनाको सुदृढीकरणमा केन्द्रित रहने बताइएको छ। अध्ययनबाट प्राप्त सुझावहरूले नेपालको दीर्घकालीन आर्थिक स्थिरता सुनिश्चित गर्न र वैदेशिक लगानीको वातावरण सुधार्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।




.gif)





