images

२०८३ आश्विन २५ गते

images
images
images

कास्की: दूध उत्पादन अनुदानकै बजेट खर्च भएन

कास्की: दूध उत्पादन अनुदानकै बजेट खर्च भएन

images
images
अर्थ समाचार
बिहिवार, आषाढ २७ २०८१
अर्थ समाचार
बिहिवार, आषाढ २७ २०८१
  • गण्डकी प्रदेश सरकारले दुग्ध उत्पादक कृषकलाई उत्पादनका आधारमा अनुदान रकम प्रदान गर्दै आएको छ ।कास्कीमा दूध उत्पादनमा कृषकलाई यसअघि प्रतिलिटरमा दुई रुपैयाँ ५० पैसा अनुदान दिँदै आएकामा यस वर्ष वृद्धि गरी प्रतिलिटर पाँच रुपैयाँ दिने योजनाअनुसार बजेट विनियोजन गरिएको थियो । तर, मन्त्रालयबाट यससम्बन्धी कार्यविधि स्वीकृत नहुँदा कृषकले सरकारले वृद्धि गरेको अनुदान रकम पाउनबाट वञ्चित भएका हुन् ।

    images
    images

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले चालु आर्थिक वर्षमा दूध उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमका लागि दुई करोड बजेट विनियोजन गरे पनि एक करोड ४९ हजार सात सय ३८ रुपैयाँ मात्र खर्च भएको छ । कृषकले सरकारले विनियोजन गरेको बजेटको आधा मात्र पाएका छन् ।

    चालु वर्षमा समेत विगत वर्षमा जस्तै प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले कृषकलाई प्रोत्साहन रकम प्रदान गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले बताए ।

    images
    images

    उनले वृद्धि भएको अनुदान रकम मन्त्रालयबाट कार्यविधि आउन ढिलाइ भएका कारण कृषकलाई प्रदान गर्न नसकिएको जानकारी दिए । उनले भने, ‘सरकार परिवर्तनलगायतका कारणबाट मन्त्रालयबाट कार्यविधि स्वीकृत भएर आउन ढिलाइ भयो । यसले गर्दा दूध उत्पादन अनुदानका लागि विनियोजित बजेट आधा मात्र खर्च भयो । यस वर्ष स्वीकृत बजेट पूरै खर्च नभए पनि आगामी वर्षमा कार्यान्वयन हुनेछ ।’

    जिल्लाका दुग्ध उत्पादक कृषकले उत्पादनका आधारमा गत वर्षमा जस्तै चालु वर्षमा समेत प्रदेश सरकारबाट अनुदान रकम प्राप्त गरेका छन् । सबैभन्दा बढी उत्पादन गर्ने कृषकले सरकारबाट प्रोत्साहन बापत अनुदान रकम समेत बढी पाएका हुन् ।

    जिल्लामा कृषक समूह तथा सहकारीका माध्यमबाट दूध बिक्री गर्दै आएका कृषकले सरकारी अनुदानको रकम बुझेका हुन् । दूध उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमका लागि यस वर्ष आह्वान गरिएकामा २२ समूह सहकारी छनोट भएको र सहकारीका माध्यमबाट कृषकलाई प्रत्यक्ष अनुदान रकम प्रदान गरिएको पाण्डेले बताए । उनका अनुसार ४० लाख १९ हजार आठ सय ९५ लिटर दूधका लागि सो रकम प्रदान गरिएको हो ।

    ‘उत्पादन गरेका आधारमा कृषकलाई सरकारको तर्फबाट प्रोत्साहन रकम प्रदान गर्ने कार्यक्रम कृषकले सर्वाधिक रुचाएका छन् । यसबाट अनुदान रकम दुरुपयोग हुन पाउँदैन । जसले बढी उत्पादन गरेर बिक्री गर्दछ उसैले अनुदान पनि बढी पाउँछ,’ कार्यालय प्रमुख पाण्डेले भने । उत्पादनका आधारमा अनुदान वितरण गर्दा कृषकले व्यवसायमा अझ बढी मेहनत गर्ने गरेको बताइन्छ ।

    कास्कीमा कुल घरधुरी एक लाख २० हजार पाँच सय ७२ रहेकामा पशुपालनमा संलग्न परिवार ५२ हजार तीन सय २३ रहेका छन् । कास्कीमा यहीँको दुग्ध उत्पादनले माग धान्ने अवस्था रहेको छ । उत्पादनका आधारमा सरकारले सहयोग गर्दा उत्पादन वृद्धि गर्न सहयोग पुगेको भेटेरिनरी अस्पतालका प्रमुख पाण्डेले बताए।

    उनले भने, ‘यसले बढी उत्पादन गर्छ, उसैले बढी अनुदान पाउने प्रोत्साहन कार्यक्रमपछि उत्पादन वृद्धि गरी आयात निरुत्साहित गर्न योगदान पुगेको छ ।’

    भेटेरिनरी अस्पताले चालु आर्थिक वर्षमा पशुमा पूर्णखोप कार्यक्रम, साना व्यावसायिक फार्म स्थापना तथा विस्तार, पाडी बाच्छी हुर्काउन प्रोत्साहन सहयोग, बाँझो जग्गामा घाँस खेती प्रवर्द्धन कार्यक्रम, कृषि ऋणमा ब्याज अनुदान लगायतका मुख्य कार्यक्रम कार्यान्वयन गरेको कार्यालयका पशु विकास अधिकृत सहदेव पौडेलले जानकारी दिए । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend