images

२०८३ आश्विन १७ गते

images
images
images

देवघाटमा झोलुङ्गे पुल मर्मत

देवघाटमा झोलुङ्गे पुल मर्मत

images
images
शुक्रवार, पौष २५ २०८२
शुक्रवार, पौष २५ २०८२
  • नारायणगढ (चितवन), २५ पुसः माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै पवित्र तीर्थस्थल देवघाटधाममा पुल मर्मत गरिँदै छ । चितवनको भरतपुर महानगरपालिका–१ र तनहुँको देवघाट गाउँपालिका–५ लाई जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलको मर्मत कार्य सुरु गरिएको हो । 

    images
    images

    दैनिक हजारौँको सङ्ख्यामा आवतजावत हुने उक्त झोलुङ्गे पुल पुस २७ गतेसम्म बिहान १०ः०० बजेदेखि बेलुका ४ः०० बजेसम्म आवतजावत बन्द रहने गरी मर्मत थालिएको देवघाट गाउँपालिका–५ का अध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँले देवघाटकै पुरानो झोलुङ्गे पुलको मर्मतसम्भार ‘सस्पेन्सन ब्रिज’ ललितपुर कार्यालयमार्फत गरिन लागेको जानकारी गराउँदै मर्मत कार्यलाई सहज बनाउन सहयोग गर्न अनुरोध गर्नुभयो । 

    अध्यक्ष कुँवरले भन्नुभयो, “दिउँसोको समयमा पुलमा  आवतजावतमा रोक लगाएर मर्मत कार्य सुरु गरिएको छ । यहाँ आउने सम्पूर्ण स्थानीयवासी तथा भक्तजनलाई वैकल्पिक मार्ग प्रयोग गरी मर्मत कार्यमा सहजता पु¥याउन अनुरोध गरेका छौँ ।”

    images
    images

    केही समयअघिदेखि पुलमा दुईपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको उल्लेख गर्दै उहाँले माघे सङ्क्रान्ति मेला सम्पन्न भएपछि पनि पुलको अवस्थाको मूल्याङ्कन गरी छलफलपछि निर्णय गरिने बताउनुभयो । “यहाँका स्थानीय वारिपारि आवतजावत गर्छन्, पारिपट्टि विद्यालय छ । मोटरसाइकल डो¥याएर मात्र लैजान दिने कि भन्ने विषयमा छलफल भइरहेको छ”, अध्यक्ष कुँवरले  भन्नुभयो । उहाँले सकेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्नुभयो । हाल देवघाट आउन ठिमुराको पुल, दासढुङ्गा पुल, नवलपुर जोड्ने हर्दी पुल र जुगेडीको झोलुङ्गे पुल प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।
     
    पुलका पट्टाहरू फेर्ने वा मिलाउने, नट–बोल्ट कस्ने वा फेर्ने, मुख्य केबलको परीक्षण तथा आवश्यक मर्मत, खिया लागेको भाग सफा गरी पेन्ट लगाउने, तथा अन्य जाँचलगायत काम भइरहेको अध्यक्ष कुँवरले बताउनुभयो । देवघाट क्षेत्र विकास समिति र गाउँपालिकाको अनुरोधमा मेलालाई मध्यनजर गरी मर्मत कार्य थालिएको उहाँको भनाइ छ ।
     
    विसं २०३७ मा निर्माण गरिएको उक्त झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । सामान्य दिनमा पनि झोलुङ्गे पुल हुँदै स्थानीय तथा बाहिरबाट आउने भक्तजनसहित हजारौँको आवतजावत हुने गरेको समितिका निर्देशक सदन बरालले जानकारी दिनुभयो ।  देवघाट आउने अधिकांश भक्तजन यही पुल प्रयोग गरी आवतजावत गर्ने गरेको उल्लेख गर्दै उहाँले मर्मत कार्यमा सहकार्य र समन्वय गर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो । 
     
    निर्देशक बरालले माघे सङ्क्रान्ति मेलाको तयारीमा सबै पक्ष जुटिरहेको जानकारी दिनुभयो । मेला व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू गठन गरी काम भइरहेको उहाँले बताउनुभयो । देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेला सबैभन्दा बढी भक्तजन आउने मेला भएकाले सुरक्षा व्यवस्थाका तथा मेलाको व्यवस्थापनका लागि भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका, देवघाट गाउँपालिका तथा चितवन, तनहुँ र नवलपुर जिल्लाका प्रशासन र सुरक्षा निकाय एवं अन्य सङ्घसंस्थासँग समन्वय गरिएको निर्देशक बरालले बताउनुभयो । देवघाट–५ का अधिकांश स्थानीयवासी चितवनको भरतपुर आउन सबैभन्दा छोटो दूरीको रूपमा यही पुल प्रयोग गर्दै आएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend