images

२०८३ आश्विन २० गते

images
images
images

विद्यालयमै कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित

विद्यालयमै कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित

images
images
आइतवार, आश्विन ६ २०८१
आइतवार, आश्विन ६ २०८१
  • काठमाडौं ।  घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालयले चालु शैक्षिक सत्रदेखि  कक्षा ११ मा व्यवस्थापनतर्फ कोरियन भाषा विषय पढाउन सुरु गरेको छ। विद्यालयमै कोरियन भाषा पढ्न पाउँदा विद्यार्थी पनि खुसी भएका छन्।

    images
    images

    कक्षा ११ मा अध्ययनरत घोराही–१० नारायणपुरकी छात्रा आशा केसीले घर नजिकैको विद्यालयमा शैक्षिक कार्यक्रममै कोरियन भाषा विषय पढ्न पाउँदा उत्साहित भएको बताइन्। कक्षा १२ को पढाइ सकेर फेरि इन्स्टिच्युट धाएर कोरियन भाषा कक्षा लिनुभन्दा पढाइसँगै पाठ्यक्रममै भाषा शिक्षा लिनु पाउनुलाई आफूहरूले अवसरका रूपमा लिएको उनको भनाइ छ।

    वडा नं. ११ डोक्रेना निवासी विद्यार्थी आयुष चौधरीले आफूले कोरियन भाषा सिक्न पाउँदा निकै खुसी लागेको बताए। पाठ्यक्रममै कोरियन भाषा शिक्षा लिन पाउँदा आफूजस्तै सबै विद्यार्थी उत्साहित भएका उनले सुनाए।

    images
    images

    आशा र आयुषजस्तै व्यवस्थापनतर्फ कक्षा ११ मा भर्ना भएकामध्ये ५५ जना विद्यार्थीले कोरियन भाषा शिक्षालाई शैक्षिक योग्यताको आधारस्तम्भका रूपमा लिएर पढ्न थालेका छन्। ‘१२ कक्षा पास गरेपछिको गन्तव्य सबैको कोरिया नै हुन्छ भन्न सकिँदैन तर यसले भाषा सिक्न सहयोग पुग्नेछ’, विद्यार्थी आशा केसीले भनिन्, ‘नेपाली, अङ्ग्रेजी विषय पढ्दै आएका हामीलाई कोरियन भाषा बिल्कुलै नयाँ विषय भएकाले उत्साहित बनाएको छ।’

    तीस जना छात्र र २५ जना छात्राले कोरियन विषय रोजेर पढ्न सुरु गरेकाले आगामी दिनमा यो विषयको माध्यमबाट विद्यार्थीको आकर्षण बढ्ने विद्यालयले अपेक्षा गरेको छ। यस विद्यालयमा हाल दुई हजार एक सय ७१ विद्यार्थी अध्ययनरत छन्। विद्यालयले विज्ञान, व्यवस्थापन, शिक्षा र कृषि डिप्लोमाको पठनपाठन गर्दै आएको छ।

    कोरियन भाषा विषयको पठनपाठन हुन थालेपछि व्यवस्थापनतर्फ भर्ना भएका विद्यार्थीमध्ये ५५ जनाले अहिले कोरियन भाषा विषयको कक्षा लिइरहेको मावि नारायणपुरका प्रधानाध्यापक उत्तमकुमार खनालले जानकारी दिए। उनका अनुसार मावि तहमा अङ्ग्रेजी विषयबाहेक अरु विदेशी भाषाको पढाइ भित्र्याउने यो पहिलो विद्यालय बनेको छ। पाठ्यक्रममै कोरियन भाषा पढाउन पाउने प्रावधान रहेको हुँदा ऐच्छिक विषयका रूपमा विद्यालयमा कोरियन भाषाको विषय थप गरेर पठनपाठन सुरु गरिएको प्रधानाध्यापक खनालले बताए।

    पचहत्तर पूर्णाङ्कको लिखित परीक्षा र २५ पूर्णाङ्कको प्रयोगात्मक अङ्क भार रहने गरी पाठ्यक्रम तयार पारिएको छ। ऐच्छिक विषयका रूपमा थपिएको कोरियन भाषा विषयको कक्षा लिने विद्यार्थीले मासिक अतिरिक्त रु छ सय ५० शुल्क तिर्नुपर्छ।

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्रबहादुर डाँगीले विद्यालयमा कोरियन भाषा कक्षा शिक्षकहरू कविराम चौधरी र श्यामलाल लहेरले पढाउने गरेको जानकारी दिए।

    कोरियन भाषा पठनपाठन सुरु गरे पनि यस विषयको पाठ्यपुस्तक पाउन कठिन भएको शिक्षक कविराम चौधरीले बताए। अहिले पाठ्यक्रमअनुसार आफैँले पाठ्यसामग्री तयार गरेर पढाउने काम गर्दै आएको उनले जानकारी दिए। रासस

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend