काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पुस २३ गते (बुधबार) देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

हाल देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा हुस्सु लागेको छ।
आज बिहान तराईका केही स्थानमा हुस्सु देखिएको छ भने दिउँसो तराई भू–भागका अधिकांश स्थानमा हुस्सु–कुहिरो रहने अनुमान गरिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम मुख्यतया सफा रहने छ।

महाशाखाका अनुसार यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
आज राति पनि तराईका धेरै स्थानमा हुस्सु रहने छ भने पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
महाशाखाले तराईमा हुस्सु–कुहिरोको कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायातमा आंशिक असर पर्न सक्ने जनाउँदै नियमित रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनामा ध्यान दिन अनुरोध गरेको छ।




.gif)





