images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • धवलागिरिवासीको गुनासो, ‘हरियाली वनपाखा र हराभरा...

धवलागिरिवासीको गुनासो, ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

धवलागिरिवासीको गुनासो, ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

images
images
शुक्रवार, पौष ४ २०८२
शुक्रवार, पौष ४ २०८२
  • म्याग्दी, ४ पुसः धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ । निर्माणस्थलमा चलाइएका डोजरले पाखोमा फाल्ने माटो र मालवाहक सवारीसाधनले उडाउने धुलोका कारण सडकमा हिँडडुल, घाँसदाउरा गर्न समस्या र गाईवस्तुको चरन तथा आहारा घाँसपात नष्ट भएको हो । 

    images
    images

    मुदी, खिवाङ, बगर, खाम्ला, बास्बोट, सोलवाङ, दर, फलीयागाउँ, खोरवाङ, कौछीनी, बाँसबोट, नाउराका बासिन्दा धुलोले आजित भएका हुन् । धवलागिरि गाउँपालिका–४ छहरी देखि खारा हुँदै खाम्ला र वडा नं ३ दरदेखि सिम्वाङ हुँदै मुदी जोड्ने सडकमा धुलोले वायु प्रदूषण बनाएको स्थानीयले गुनासो गरेका छन् । मुना–दर–मुदी सडकको सिम्वाङ क्षेत्रमा दरखोला जलविद्युत् आयोजनाको पाइप लाइन निर्माणका लागि डोजर परिचालन गरेर सडकको भित्ता काट्ने काम भइरहेको छ । 

    छहरी–खारा–खाम्ला खण्डको सडकमा अपर म्याग्दी, अपर म्याग्दी–१, म्याग्दीखोलालगायत जलविद्युत् आयोजनाका निर्माण सामग्री र उपकरण बोकेका ट्रक, टिपरलगायत मालवाहक सवारीसाधन ओहोरदोहोर गर्छन् । धवलागिरि गाउँपालिका–४ खिवाङका बासिन्दा लीलबहादुर घर्तीले सडकको धुलोले खेतीबाली र मानिसको स्वास्थ्यमा असर पारेको गुनासो गर्नुभयो । “विकासका आयोजना भित्रिएकामा खुसी भएका हामी हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे हुँदा दुःखी छौँ”, उहाँले भन्नुभयो, “विकास होस तर विपद् र वातावरण विनास नहोस् भन्ने हाम्रो अपेक्षा हो ।”

    images
    images

    खाराका ज्ञानबहादुर पुनले गाईवस्तुलाई खुवाउने घाँस, फलफूल र तरकारीको पातैभरि धुलो थुप्रिएर उपभोग गर्न नसकिने भएको बताए। “बगैँचा, खेतबारी र घाँसदाउराका लागि घरबाहिर गएर आउँदा शरीरभरि धुलैधुलो भएर नुहाउनुपर्छ”, उनले भने, “सुकाएका कपडामा पनि धुलो टाँसिएर फोहर हुन्छ । पानीको स्रोत पनि धुलोले दूषित बनाएको छ । खकार र सिगानमा पनि धुलो मिसिएको आउन थालेको छ ।”

    खाम्लाका बासिन्दा केशरमान पुनले गाडीभित्र सिसा थुन्दा उकुसमुकुस हुने र झ्याल खोले सबै भित्र पसेर धुलाम्मे भइने बताए। “मोटरसाइकल र गाडीको पछाडि बसेर यात्रा गर्नेको धुलोले अनुहार पनि नचिनिने अवस्था हुन्छ”, उनले भने, “जलविद्युत् आयोजनाले धुलो मार्नका लागि सडकमा पानी नहालेका कारण वायु प्रदूषण बढेको हो ।”

    जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख भएको धुलो र प्रदूषण नियन्त्रण गर्ने प्रतिबद्धता कार्यान्वयन नगरेकाले सचेत बनाएको धवलागिरि गाउँपालिका–४ का वडाध्यक्ष यामबहादुर घर्तीले बताए। कात्तिक दोस्रो सातादेखि अकाशबाट वर्षा नभएकाले मौसम सुक्खा छ ।

    अपर म्याग्दी–१ जलविद्युत् आयोजनाले मालिका गाउँपालिका–७ भारवाङमा निर्माणाधीन विद्युत्गृहदेखि छहरीस्थित अडिटसम्म हरेक दिन बिहान र बेलुकी ट्याङ्करबाट सडकमा पानी हालेर धुलो मार्दै आएको छ । खाम्लादेखि बाँध निर्माणस्थलसम्म पनि ट्याङ्करले सडकमा पानी हालेको छ ।

    अपर म्याग्दी जलविद्युत् आयोजनाले घिम्लेटीमा निर्माणाधीन विद्युतगृहदेखि नाउरा हँुदै चेचुङको फेदीमा रहेको अडिटसम्मको सडकमा पानी हालेर धुलो मारेको छ । नाउरादेखि अपर म्याग्दीको बाँध र बगरदेखि माथिको सडकमा पनि धुलो मार्नका लागि सम्बद्ध आयोजनालाई सचेत बनाएको धवलागिरि गाउँपालिका–४ का वडासदस्य हरिप्रसाद तिलिजाले बताए।

    अपर म्याग्दी–१ जलविद्युत् आयोजनाका प्रमुख ज्योतिकुमार केसीले छहरी–खारा–खाम्ला सडक स्तरोन्नतिको जिम्मा लिएको सहायक ठेकेदारले समयमा काम नगरिदिँदा धुलो नियन्त्रण गर्न नपाएको बताए। “हाम्रो सिभिल ठेकेदार लुना विल्डर्समार्फत जिम्मा लिएका स्थानीय सबकन्ट्रक्टरले सडकमा नाली, पर्खाल बनाउन र सोलिङ गर्न ढिलाइ गर्नुभएको छ”, उनले भने, “सब कन्ट्रयाक्टरले छिटो काम सकिदियो भने धुलो नियन्त्रण र थप काम लगाउन हामीलाई सजिलो हुने थियो ।”

    लुना विल्डर्सको सहायक ठेकेदार चोचाङ्गी पुन कन्ट्रक्सनका सञ्चालक समेत रहेका मुदीका बासिन्दा दलमान पुनले आफ्नो जिम्मेवारी सडकको संरचना बनाउने भएको र धुलो मार्ने काम आयोजनाकै भएको तर्क गरे। “नाउरादेखि खाम्ला–कल्लेनी क्षेत्रमा ग्याबियन, नाली, मेसिनरी पर्खाल र सोलिङको काम गर्नेमात्रै मेरो जिम्मेवारी हो”, उनले भने, “धुलोका कारण मजदुरलाई काम गराउन मलाई पनि समस्या भएको छ ।”

    अपर म्याग्दी जलविद्युत् आयोजनाका प्रमुख रमेश सुवेदीले आफ्नो आयोजना क्षेत्रमा धुलो नियन्त्रण गरेको र नाउरादेखि बगर जोड्ने सडकमा म्याग्दीखोला जलविद्युत् आयोजनासँग साझेदारी गरेर प्रदूषण नियन्त्रणको काम गरिने बताए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend