images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • रुपन्देहीको भीम अस्पताल नगद कारोबारमै निर्भर,...

रुपन्देहीको भीम अस्पताल नगद कारोबारमै निर्भर, डिजिटल भुक्तानी नहुँदा सेवाग्राहीलाई सास्ती

रुपन्देहीको भीम अस्पताल नगद कारोबारमै निर्भर, डिजिटल भुक्तानी नहुँदा सेवाग्राहीलाई सास्ती

images
images
सोमवार, मंसिर २९ २०८२
सोमवार, मंसिर २९ २०८२
  • काठमाडौं।विसं २०८२ कात्तिक २ गते राति ११ः३० बजे छोराको उपचारका लागि रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ का नारायणप्रसाद कोइराला भैरहवास्थित भीम अस्पताल पुगे। खुट्टामा समस्या देखिएपछि १२ वर्षीय संयोगलाई लिएर उनी अस्पतालको आकस्मिक (इमर्जेन्सी) कक्षमा पुगे ।कोइरालासँग भएको नगद ५० रूपैयाँले टिकट काउण्टरमा आकस्मिक पूर्जी पनि काटे। इमर्जेन्सी कक्षमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीले संयोगको जाँच गरेपछि एक्सरे गर्नुपर्ने सुझाव दिए। तर कोइरालासँग छोराको खुट्टाको एक्सरे गराउन लाग्ने नगद पैसा थिएन । नगद नभएकै कारण उनी त्यसरात एक्सरे नगराइकन घर फर्किए। अहिलेको समयमा नगद पैसा खासै बोकिँदैन, डिजिटल भुक्तानी (क्यूआर कोड) मार्फत एक्सरे गराउन लाग्ने रकम तिर्छु भने। तर अस्पतालमा विद्युतीय भुक्तानीको सुविधा रहेनछ ।

    images
    images

    एक्सरे नगराइकन कोइराला दुई ट्याब्लेट औषधि किनेर घर फर्किएको बताउँछन् । अस्पताल परिसरमा रहेको साझा स्वास्थ्य सेवा (औषधि पसल) मा समेत क्यूआर कोडबाट रकम भुक्तानी गर्ने सुविधा नरहेपछि संयोगसँग खल्तीमा भएको नगद पाँच रूपैयाँले दुई ट्याब्लेट औषधि किनेर बुबाछोरा घर फर्किएको उनको सम्झना छ ।“भीम अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दो छ । यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीले सेवाग्राहीसँग गर्ने व्यवहार राम्रो पाएको छु, केही स्वास्थ्य समस्या परे यसै अस्पतालमा नियमित रूपमा स्वास्थ्य परीक्षण गराउँदै आएका छौँ”, उनले भने, “मैले भोग्नुपरेको समस्या कसैले पनि भोग्नु नपरोस्, अस्पताल प्रशासनले यसमा सुधार गरेर जान्छ भन्ने अपेक्षा गरेको छु।”

    उनले विद्युतीय भुक्तानीको सुविधा भए सेवाग्राहीलाई सहजता प्रदान हुने बताए।कोइरालाजस्ता धेरै बिरामीलाई डिजिटल भुक्तानीको सुविधा नहुँदा सास्ती खेप्नुपरेको छ । प्रविधिको युगमा अस्पतालमा पनि प्रविधिको विकास हुनुपर्ने सिद्धार्थनगर नगरपालिका–३ का गोपाल भण्डारीले बताए । निजी स्वास्थ्य संस्थामा अनलाइनबाट काम हुने तर, सरकारी स्वास्थ्य संस्थामा किन हुन सक्दैन भन्दै उनले प्रश्न गरे।होटल व्यवसायी महासङ्घ नेपालका उपमहासचिव राजेश महोत्राले अब अस्पताल पनि ‘क्यूआर कोड सिस्टम’मा जानुपर्ने बताए। उनले अनलाइनबाटै टिकट बुकिङ र भुक्तानी गर्ने सुविधा प्रदान गर्नेतर्फ अस्पताल अघि बढ्नुपर्ने सुझाव दिए ।

    images
    images

    भीम अस्पताल विकास समितिका पूर्वअध्यक्ष नारायणप्रसाद भण्डारीले अस्पतालमा ‘अनलाइन टिकेटिङ’ र क्यूआर कोड सुविधाबारे काम अगाडि बढाउने तयारी गर्दैगर्दा आफू जिम्मेवारीमुक्त भएको बताए । उनले अहिलेसम्म अस्पतालमा यो सुविधा हुन नसकेको भन्दै अस्पताल प्रशासनको ध्यानाकर्षण गराए ।“अनलाइन टिकेटिङको सुविधा भयो भने सेवाग्राहीलाई टिकट काट्न लाइन बस्नुपर्दैन । अनलाइनबाटै पैसा तिरेर बिरामी उपचार गराउन आउनुहुन्छ, जसले गर्दा बीमा र जनरल ओपिडीमा भीड पनि कम हुन्छ”, भण्डारीले भने ।बिरामीको सुविधाका लागि अस्पताल विकास समिति र अस्पताल प्रशासनले यसतर्फ विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।

    भीम अस्पतालले गत हप्ता आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा अस्पताल प्रमुख (मेडिकल सुपरिटेन्डेण्ट) डा. वर्षा थापाले विद्युतीय भुक्तानी प्रणालीलाई मध्यकालीन योजनामा राखिने जानकारी दिए ।“हामीकहाँ आइटीसम्बन्धी कर्मचारी नभएको हुनाले बाहिरबाट परामर्शमार्फत ल्याउनुपर्छ, त्यसैले यसलाई मध्यकालीन योजनामा राख्छौँ”, उनले भने ।अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्तकुमार शर्माले भीम अस्पतालले राम्रो सेवा दिइरहेका कारण यहाँ बिरामीको चाप बढ्दै गएको बताए। उनले विद्युतीय भुक्तानी प्रणालीको सुविधा नभएका कारण सेवाग्राही मर्कामा परेको गुनासो आएको भन्दै सुनुवाइका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष शर्माले डिजिटल प्रणालीको सुविधा प्रदान गर्न लागिपरेको बताए। सिद्धार्थनगर नगरपालिका–१३ मा अवस्थित भीम अस्पताल १९९० सालमा स्थापना भएको रूपन्देहीको पुरानो अस्पताल हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend