काठमाडौं । विशेष अदालतले सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, ओखलढुंगामा कार्यरत तत्कालीन इन्जिनियर सन्तोष कुमार यादवलाई घुस (रिसवत) मुद्दामा दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय सुनाएको छ।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले यादवलाई दुई वर्ष कैदसहित ५ लाख ७० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार यादवले खोटाङ जिल्लामा निर्माणाधीन सडकको पाँचौँ रनिङ बिल स्वीकृत गरी भुक्तानी प्रक्रिया अघि बढाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेका थिए। उनले गत जेठ १ गते ५ लाख ७० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको थियो।
त्यसैगरी, यादवले २०८१ चैत ८ गते पनि सोही कामका लागि सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिएको दाबी अख्तियारको छ। आयोगले उक्त प्रकरणमा गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
अदालतले अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम यादवबाट विगोको ४० प्रतिशतले हुन आउने २२ हजार ८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नसमेत आदेश दिएको छ।




.gif)





