images

२०८३ आश्विन १५ गते

images
images
images

कोरला सडक आयोजनामा आठ अर्ब खर्च

कोरला सडक आयोजनामा आठ अर्ब खर्च

images
images
आइतवार, मंसिर २८ २०८२
आइतवार, मंसिर २८ २०८२
  • मुस्ताङ, २८ मङ्सिरः यहाँको उत्तरदक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडकमा रु आठ अर्ब २० करोड खर्च भएको छ । आव २०८१÷८२ सम्म आयोजनाको प्रस्तावित लागत अनुमान रु १० अर्ब ५७ करोड रहेकामा आयोजनाले ८२ प्रतिशत बजेट खर्च गरेको हो ।

    images
    images

    भारत र चीन जोड्ने राष्ट्रिय गौरवको कोरला सडक अन्तर्गत पर्वतको मालुढुङ्गा देखि नेपाल–चीन कोरलानाका सम्मको दुई सय दुई किलोमिटर सडकको ट्रयाक खुलाइसकिएको छ । विसं २०७३ साल मङ्सिर १२ गते मन्त्रिपरिषद्को निर्णयअनुसार कालीगण्डकी करिडोर (बेनी–जोमसाम–कोरला) सडकलाई छुट्टै आयोजनाका रूपमा स्थापना गरिएको थियो । जसअन्तर्गत आयोजनाले यहाँ २०७३।७४ सालदेखि निरन्तर पर्वत, म्याग्दी र मुस्ताङ खण्डमा दुई सय दुई किलोमिटर सडकको क्रमबद्ध रूपमा सडक स्तरोन्नति गरिरहेको छ । आयोजनाको पछिल्लो संशोधित सम्पन्न अवधि आव २०८२।८३ प्रस्ताव गरिएको छ । तर कोरलानाका सम्मको सडक कालोपत्र गर्नुपर्ने आवश्यकता रहेकाले सम्पन्न अवधि पुनः संशोधन हुने निश्चित छ ।

    यस कालीगण्डकी करिडोर सडक आयोजना अन्तर्गत दुई सय दुई किलोमिटर सडकको ट्रयाक खोल्ने, ९७ किलोमिटर सडक ग्राभेल, एक सय पाँच किलोमिटरमा कालोपत्र र १९ वटा पुल निर्माण गर्ने लक्ष्य छ । उक्त लक्ष्यअनुरुप आव २०८१।८२ सम्ममा आयोजनाले दुई सय दुई किलोमिटर सडकको ट्रयाक खोलिसकेको, ९४ किलोमिटर सडक ग्राभेल, ८८ किलोमिटर कालोपत्र र १४ वटा पुल निर्माण सम्पन्न भइसकेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिएका छन्।

    images
    images

    कोरला सडकका लागि आयोजना मार्फत तीन किलोमिटर ग्राभेल र कागबेनी–छुसाङ १० किमी कालोपत्रसहित २७ किलोमिटर सडकमा कालोपत्र गर्नुपर्ने र बाँकी स्थानमा नयाँ ठेक्का लगाउनुपर्ने छ । यस आयोजनाअन्तर्गत (कागबेनी–कोरला) सडकखण्डसमेत कालोपत्र गर्ने अवस्था रहेमा आयोजनाका कुल लागत अनुमान १५ अर्ब बढी हुनसक्ने आयोजना प्रमुख शर्माको भनाइ छ । जसअन्तर्गत कोरला सडकखण्डको पूरै दुई सय दुई किमी डबल लेनमा सडक स्तरोन्नति गरी कालोपत्र गर्ने र आवश्यक पुल निर्माण गर्ने लक्ष्य रहेको आयोजना प्रमुख शर्माले बताएका छन्।

    कोरला सडकका लागि चालु आव २०८२।८३ मा सडकतर्फ रु ६८ करोड १३ लाख विनियोजन भएको छ । आयोजनाले विनियोजित उक्त बजेटमध्ये प्रथम चौमासिकमा रु २३ करोड ७७ लाख अर्थात् ३४ दशमलव ८८ प्रतिशत बजेट खर्च गरेको छ । यसैगरी रणनीतिक सडक पुल निर्माण तथा पुलपुलेसा संरक्षणका लागि एक करोड ४५ लाख बजेट विनियोजन गरिएको छ । यस शीर्षकमा चालु वर्षको पहिलो चौमासिकसम्म कुनै वित्तिय भुक्तानी नभएको आयोजनाले जनाएको छ ।

    त्यसैगरी, गत आवमा यस आयोजनाका लागि सुरुआती पुँजीगतर्फ ९२ करोड ४५ लाख विनियोजन भएको थियो । उक्त बजेट संशोधन भई रु ९३ करोड ८० लाख बजेट कायम भएको थियो । गत वर्ष कोरला सडकको वित्तिय प्रगति ९९ करोड ९६ लाख भएको थियोभने भौतिक प्रगति शतप्रतिशत भएको आयोजना प्रमुख शर्माको भनाइ छ ।

    आयोजना अनुसार गतवर्ष १० किलोमिटर ग्राभेल सडक, ३० किलोमिटर कालोपत्र, एक सडक मर्मत तथा स्तरोन्नति र छवटा पक्की पुल सम्पन्न भएका आयोजना प्रमुख शर्माले उल्लेख गरेका छन्। राष्ट्रिय गौरवको कोरला सडकका लागि आव २०७३।७४ मा रु ४५ करोड ९३ लाख, आव २०७४।७५ मा एक अर्ब ५१ करोड २८ लाख, आव २०७५।७६ मा रु एक अर्ब ३१ करोड, आव २०७६।७७ मा रु ९० करोड २५ लाख, आव २०७७।७८ मा रु ९३ करोड ४९ लाख, आव २०७८।७९ मा रु ८४ करोड ८६ लाख, आव २०७९÷८० मा रु ५७ करोड एक लाख, आव २०८०।८१ मा ७२ करोड ७८ लाख र आव २०८१।८२ मा रु ९३ करोड ७७ लाख बजेट खर्च भएको आयोजनाको तथ्याङ्कमा उल्लेख छ ।

    कोरला सडक अन्तर्गत मालढुङ्गा बेनी सडकखण्डमा दुई सय मिटर सडकमा पहिरो रोकथाम गर्नुपर्ने, मालढुङ्गा बेनी खण्डको नौ सय मिटर बेनीबजार क्षेत्रमा विवादको कारण सडक निर्माणमा बाधा पुगेको र त्यहाँ विवाद समाधान गरी सडक एलाइमेन्ट परिवर्तन गरी नयाँ ठेक्का खुल्नुपर्ने आवश्यकता रहेको आयोजनाले जनाएको छ । बेनीदेखि तातोपानी खण्डको चार किलोमिटर दूरीमा पहिरो रोकथामका लागि आवश्यक सडक स्थिरीकरण गरी दायाँ फुटपाथको कार्य गर्नुपर्ने देखिन्छ । यसैगरी म्याग्दीको तातोपानीदेखि जोमसोम खण्डको २।५ किलोमिटर क्षेत्रमा पहिरो रोकथामका लागि आवश्यक सडक स्थिरीकरण गर्दै दाया फुटपाथको काम गर्नुपर्ने चुनौती रहेको छ ।

    बेनीदेखि जोमसोम सम्मको टुकुचे, भुरुङखोला र बोक्सी खोलामा दुईवटा गरी चार वटा थप पुल निर्माण गर्नुपर्नेछ । यहाँको जोमसोम–कोरला सडक अन्तर्गत छुसाङदेखि घमीसम्म ४० किलोमिटरको वातावरण प्रभाव मूल्याङ्कन इआइए तथा डिपिआर भइसकेको र त्यसका लागि कालोपत्र गर्न रु दुई अर्ब चार करोड लागतमा बहुवर्षीय ठेक्का लगाउनुपर्ने देखिएको छ । घमीदखि कोरला ५० किलोमिटर सडकको इआइए र सडक डिपिआर भइसकेकाले रु तीन अर्ब लागतको बहुवर्षीय ठेक्का व्यवस्थापन गर्नुपर्ने आयोजनाले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend