काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा पठन संस्कृति लोप हुँदै गएको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले अहिले पठन संस्कृतिको चलन हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।
उनले भूमिगत कालमा पञ्चायत विरुद्ध लड्दा काँग्रेस, कम्युनिस्ट सबै जेलमा हुँदा पनि पढ्ने गरेको स्मरण गरे। तर अहिले अध्ययन गर्ने संस्कृति हराइरहेको उनको भनाइ थियो।
.
उनले भने, ‘अहिले मान्छेमा पढ्ने लेख्ने चलन पनि छैन। हिजोका हाम्रा साथीहरू त्यत्रो भूमिगत कालमा पञ्चायत विरुद्ध लड्दा कांग्रेस, कम्युनिस्ट सबै साथीहरू जेलमा पर्दा पनि सँगै अध्ययन गर्ने बानी थियो। पछि हामी जनयुद्धमा जाँदा पनि त्यत्रो मेहनत गरेर पढ्थ्यौँ। अहिले यता आइसकेपछि अब काँग्रेसका साथीहरुले त पढ्नै छोडिहाल्नु भयो। कम्युनिस्टहरू अलि बढी जो पढ्ने हो कम्युनिस्टहरू पनि अब कुनै खास फरक छैन। उहाँहरूले पनि पढाइलेखाइमा रुचि राख्नुहुन्न। हामीले अघि वैकल्पिक ढङ्गले जानुपर्छ, भन्नेहरू पनि अलिअलि मेहनत गर्न खोजेका छौँ तर हाम्रो पनि आरण्य रोदन जस्तो भइरहेको छ।’
पूर्वप्रधानमन्त्री भट्टराईले आर्थिक वृद्धि, सामाजिक न्याय, दिगो प्रकृतिको संरक्षण र मान्छेमा खुसीपना आउनुपर्ने आयाम सहितको विकास आवश्यक रहेको बताए। उनले लोकतन्त्र उन्नत हुँदै जाने प्रक्रिया भएकाले यसको विकास गर्दै अघि बढ्नुपर्ने जिकिर गरे। समावेशी र सहभागिता मूलक लोकतन्त्रमा आधारित समाजवाद आवश्यक रहेको उनको भनाई थियो।




.gif)





