काठमाडौँ, २० मंसिर । काठमाडौँको टोखा नगरपालिकाभित्रका मुख्य सडकहरूमा आधुनिक ‘स्मार्ट सडकबत्ती’ जडान गरिएको छ। नगरपालिकाको ६५ प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ३५ प्रतिशत लगानीमा सम्पन्न यो परियोजना शुक्रबार नगरप्रमुख प्रकाश अधिकारीले उद्घाटन गर्नुभयो।
स्मार्ट सडकबत्ती उद्घाटन गर्दै नगरप्रमुख अधिकारीले “उज्यालो टोखा” निर्माण गर्ने आफ्नो प्रतिवद्धता पूरा भएको बताउँदै यसले यातायात व्यवस्थापन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षामा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँका अनुसार सामाखुशी–झोर, नयाँ बसपार्क–भत्केको पुल, साउथ वेस्टन कलेज–धापासी हाइट तथा दाहालगाउँ–ग्रीनल्याण्ड क्षेत्रमा स्मार्ट सडकबत्ती जडान गरिएको छ।
टोखा नगरपालिकाले २०८१ पुस २४ गते नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरी मुख्य सडकहरूमा स्मार्ट सडकबत्ती जडान प्रक्रिया अघि बढाएको थियो। सम्झौताअनुसार सडकबत्ती जडानका लागि नगरपालिकाले रु २ करोड ८४ लाख ८३ हजार र प्राधिकरणले रु १ करोड ५३ लाख ३७ हजार लगानी गर्ने व्यवस्था छ।
प्राधिकरणले प्रविधि छनोट, बोलपत्र प्रक्रिया, उपकरण खरिद तथा निर्माण–स्थापना कार्यको सुपरिवेक्षण गर्ने जिम्मेवारी पाएको थियो। नगरपालिका स्वामित्वमा रहेका पुराना सोलार तथा अन्य सडकबत्ती हटाउनुपर्ने भएमा सो कार्य नगरपालिकाले आफ्नै खर्चमा गर्ने र प्रयोगवापत तिर्नुपर्ने सबै बक्यौता रकम कानुन अनुसार भुक्तानी गर्ने व्यवस्था पनि सम्झौतामा उल्लेख छ।
स्मार्ट सडकबत्ती सञ्चालनपछि टोखाको मुख्य सडक क्षेत्रहरू राति अझ सुरक्षित, उज्यालो र व्यवस्थित हुने अपेक्षा लिइएको छ।




.gif)





