मुगु । मंसिर १७, मुगुम कार्मारोङ गाउँपालिकामा साउन महिनादेखि प्रमुख प्रशासकीय अधिकृत (सीएओ) नआएपछि सम्पूर्ण प्रशासनिक तथा आर्थिक कामकाज रोकिएको छ। सामान्य प्रशासन मन्त्रालयले दानबहादुर शाही र नैनासिंह बुढालाई क्रमशः सरुवा गरी खटाए पनि दुबैजना कार्यस्थलमा हाजिर हुन अस्वीकार गरेपछि गाउँपालिकाको दैनिक सञ्चालन अवरुद्ध भएको हो।
अघिल्लो आर्थिक वर्षको असारसम्म आर्थिक अधिकार सहित काम गर्दै आएका आठौं तहका शिक्षा अधिकृत सुवास रावललाई मन्त्रालयले जिम्मेवारीबाट हटाएपछि अवस्था थप जटिल बनेको गाउँपालिकाले जनाएको छ। दुई जना प्रशासन तर्फका अधिकृत खटाइँदा पनि कार्यभार नसम्हाल्दा पालिका साउन यता नेतृत्व विहीन बनेको हो।
अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार मन्त्रालयलाई धेरैपटक आग्रह गर्दा पनि तदर्थ व्यवस्था मिलाइएको छैन। ‘रावललाई अस्थायी रूपमा आर्थिक अधिकारसहित सीएओ तोकिदिन भनेका थियौं, मन्त्रालयले मानेन। पठाइएका अधिकृतहरू नै आउन तयार छैनन्,’ अध्यक्ष लामाले बताए।
शिक्षा अधिकृत रावल हाल सेवाकालीन तालिमका लागि काठमाडौंमा भएकाले पालिकामा पूर्ण नेतृत्व अभाव भएको छ। यसबीच, गाउँपालिकाले सातौं तहका इन्जिनियर हेमन्त न्यौपानेलाई अस्थायी रूपमा आर्थिक अधिकारसहित प्रमुख प्रशासकीय अधिकृत तोकिदिन पुनः मन्त्रालयलाई सिफारिस गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजना सम्झौता, बजेट कार्यान्वयन, ठेक्का प्रक्रिया र कार्यालयका सबै आर्थिक कारोबार ठप्प छन्। कर्मचारीले दसैं यता तलब भत्ता पाउन सकेका छैनन् भने सामाजिक सुरक्षा भत्ता वितरणसमेत रोकिएको छ।
अध्यक्ष लामाका अनुसार विकास परियोजना, सेवा प्रवाह तथा आर्थिक सञ्चालन अवरुद्ध हुँदा स्थानीय विकासका गतिविधि कम्तीमा तीन महिना पछाडि धकेलिएका छन्। ‘मन्त्रालयले शीघ्र वैकल्पिक व्यवस्था नगरे पालिकाका सबै काम पूर्ण रूपमा बन्द हुने जोखिम छ,’ उनले भने।




.gif)





