काठमाडौं महानगरपालिकाले चालु आर्थिक बर्षमा ५१ प्रतिशत बजेट खर्च गरेको छ। यो गएका ५ वर्षको तुलनामा सबैभन्दा उच्च अङ्कमा खर्च गरेको महानगरले जनाएको छ।
मंगलबार महानगरले विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०८०/८१ मा विनियोजित २४ अर्ब मध्ये १२ अर्ब भन्दा बढी अर्थात् ५१.०४ प्रतिशत खर्च भएको जानकारी दिइएको हो।
यसरी खर्च हुनुमा नीति र योजनावद्ध कार्यक्रम कार्यान्वयन गरिनु प्रमुख कारण भएको प्रवक्ता नविन मानन्धर बताउँछन्। ‘योजना र कार्यक्रमलाई प्राथमिकीकरण गरिएका कारण पनि प्रगति हासिल गर्न सहज भयो,’ उनले भने।
आर्थिक वर्ष २०८०/८१ मा भएको कुल खर्च रकम आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजित सिङ्गो बजेट बराबर रहेको उनको भनाइ छ। यसको अघिल्लो वर्ष आ. व. २०७५/७६ मा ५३ प्रतिशत खर्च भएको थियो। त्यसपछि आर्थिक बर्ष २०७६/७७ मा ५० प्रतिशत खर्च भएको थियो। त्यसपछि वर्षहरुमा खर्च गर्ने दर क्रमशः घट्दै गएको थियो।
महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा २४ अर्ब बजेट विनियोजन गरेको थियो। यसका लागि सबैभन्दा बढी आन्तरिक स्रोतबाट ८२ प्रतिशत, तीनै तहको राजस्व बाँडफाँडबाट ९ प्रतिशत, समानीकरण अनुदानबाट ३ प्रतिशत र सशर्त अनुदानबाट ६ प्रतिशत व्यहोर्ने अनुमान गरिएको थियो।
चालू आर्थिक वर्षमा २०८१ असार २४ गते सम्ममा करिब १० अर्ब आन्तरिक आय सङ्कलन भएको छ। यस अर्थमा २०८०/८१ मा भएको खर्च सङ्कलित आन्तरिक आयको तुलनामा १२० प्रतिशत हो।
चालू, पूँजीगत र वित्तीय खर्चको अवस्था
पाँच वर्ष अघि २०७६/७७ मा ७७ प्रतिशत चालू खर्च भएकोमा हाल आर्थिक वर्ष २०८०/८१ मा यो दर ६४ प्रतिशतमा सिमित भएको छ। यस्तै आर्थिक वर्ष २०७७/७८ मा २१ प्रतिशत, २०७८/७९ मा २९ प्रतिशत र २०७९/८० मा २६ प्रतिशत रहेको पूँजीगत खर्चमा उत्साहजनक वृध्दि भएर ४२ प्रतिशत पुगेको छ।
अर्कोतर्फ २०७७/७८ मा २३ प्रतिशत वित्तीय खर्च भएकोमा हाल शतप्रतिशत पुगेको छ। यसबाट महानगरपालिकाको २०८०/८१ को खर्च बढ्नुमा पूँजीगत खर्च र वित्तीय खर्चको योगदान रहेको पुष्टि हुन्छ।
यस्तै आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब १० करोड बेरुजु रहेकोमा २०७४/७५ मा ६९ प्रतिशतले कमी आएर ३४ करोड मात्र बेरुजु रहेको थियो। तत्पश्चात २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा ३२० प्रतिशतले वृद्धि भएको बेरुजु आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा ६१ प्रतिशतले कमी भई २६ करोड मात्र कायम रहेको छ।




.gif)





