काठमाडौँ । मंसिर १३, चाडपर्वको समयमा मात्रै बजार अनुगमन गर्ने र अन्य समयमा निष्क्रिय रहने गरेको भन्दै आलोचना झेल्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो समयमा अनुगमन कार्यलाई तीव्र पारेको छ। विभागका अनुसार शुक्रबार मात्रै काठमाडौंका आठ उद्योग तथा फर्मको बजार अनुगमन गरिएको थियो।
अनुगमनका क्रममा तारकेश्वर–गोलढुङ्गास्थित क्रिस्टल स्टोर लाई उपभोक्ता संरक्षण ऐन, २०७५ का दफा १६ र ३८ विपरीत अनुचित व्यापारिक क्रियाकलाप गरेको ठहर गर्दै दफा ३९(१) अनुसार रु २ लाख ५ हजार जरिवाना गरिएको छ। उक्त ऐनअनुसार वस्तु तथा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल वा बिक्री प्रक्रिया अनुचित भए अधिकतम रु २ लाख देखि रु ३ लाख सम्म जरिवाना गर्न सकिने व्यवस्था छ।
त्यस्तै, काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित घुम्ने किचेन लाई रु २० हजार, सिनामंगलस्थित ग्रीन बड्स बेकरी क्याफे लाई रु ५ हजार जरिवाना गरिएको विभागले जनाएको छ।
ललितपुरको सुमेरु अस्पताल परिसरमा सञ्चालनमा रहेका क्यान्टिनलाई व्यवसाय सम्बन्धी आवश्यक कागजात सहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। बाँकी तीन फर्मलाई सामान्य निर्देशन जारी गरिएको विभागले जानकारी दिएको छ।
विभागका अनुसार उपभोक्ताको हकहित संरक्षण गर्न नियमित तथा प्रभावकारी अनुगमन आगामी दिनमा अझै सुदृढ बनाइनेछ।




.gif)





