काठमाडौँ । नेपाल राष्ट्र बैंकले काठमाडौँका दुई वटा मनिचेञ्जर कम्पनीको इजाजतपत्र रद्द गरेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आइतबार एक सूचना जारी गर्दै तोकिएको समयसीमाभित्र इजाजतपत्र नवीकरण नगर्ने दुई कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो ।इजाजतपत्र रद्द हुने कम्पनीहरूमा काठमाडौँ महानगरपालिका ११ सुन्धारा क्षेत्रमा सञ्चालित लर्ड बुद्ध मनि एक्सचेञ्ज प्रा.लि. र स्तुपा मनिचेञ्जर प्रा.लि. रहेका छन् ।
राष्ट्र बैंकका अनुसार ती मनिचेञ्जरहरूले ‘नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित)’ को पालना गरेका छैनन् ।विनियमावलीको विनियम १९ को उप–विनियम (३) मा इजाजतपत्रको म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था छ ।तर, यी दुवै कम्पनीले तोकिएको उक्त समयसीमाभित्र आफ्नो इजाजतपत्र नवीकरण गर्न नसकेकोले राष्ट्र बैंकले इजाजतपत्र रद्द गर्ने निर्णय गरेको हो ।यो निर्णयसँगै अब यी कम्पनीहरूले मनिचेञ्जरसम्बन्धी कारोबार गर्न पाउने छैनन् ।





.gif)





