जनकपुरधाम । मधेस प्रदेश सभामा बुधबार दिउँसो १ बजे सुरु हुने भनिएको बैठक सचिवालय नेतृत्वको एकपछि अर्को अनुपस्थितिका कारण अमान्यजस्तै बन्न पुगेको छ । सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता भएको आचरण–सम्बन्धी प्रस्तावमाथि आज नै छलफल हुने अपेक्षामा सांसदहरू प्रदेशसभामा भेला भए पनि बैठक सञ्चालनमा जिम्मेवार मानिने अधिकारीहरू नै नदेखिएपछि कार्यसूची रोकिएको हो ।
प्रदेश सभा सचिव वासुप्रसाद कोइराला बिदामा छन् भने उनको अनुपस्थितिमा सदन चलाउने जिम्मेवारी पाएका निमित्त सचिव होमप्रसाद पहाडी पनि कार्यालयमा उपस्थित छैनन् । प्रवक्ता तथा उपसचिव विपिन ठाकुरसमेत कार्यालयमा देखिएका छैनन् । सदनमा उपस्थित एक सांसदले भने, ‘सदस्यहरू सबै आएका छन् । तर, सदन सञ्चालन गर्ने अधिकारी कता छन्, कसैलाई थाहा छैन ।’
बिजुली अवरोध भइरहेकाले वैकल्पिक लाइनका लागि जेनेरेटर ल्याइएको थियो । तर, केही समयमै विद्युत् आपूर्ति सामान्य भएपछि डिजेल जेनरेटर फिर्ता पठाइएको थियो । प्राविधिक तयारी पूरा भए पनि सचिवालयको शून्यता नै बैठक सुरु नहुनुको मूल कारण बनेको छ ।आजको बैठक सभामुख मण्डलविरुद्ध सात दलका ६४ जना सांसदले दर्ता गरेको पद अनुकूल आचरण नगरेको प्रस्तावमाथि केन्द्रित थियो । मंगलबार ३२ सांसदले उपसभामुख बबिता राउत ईशरलाई बैठक बोलाउन औपचारिक पत्र दिएका थिए । त्यसपछि उनले आज १ बजेका लागि बैठक आह्वान गरेकी थिइन् ।
तर, समयमा बैठक सुरु हुन नसक्दा सभामुखविरुद्धको प्रस्ताव फेरि अनिश्चिततामा फसेको छ ।प्रक्रिया अघि नबढ्दा सत्ता तथा विपक्षी दुवै पक्षका सांसदहरूमा असन्तुष्टि देखिएको छ । केही सांसदले यस्तो अवस्था आउनुमा प्रशासनिक लापरबाही वा योजनाबद्ध विलम्ब हुन सक्नेतर्फ आशङ्का व्यक्त गरेका छन् ।यता सांसदहरू भने प्रदेश सभा सञ्चालनकाे प्रतीक्षामा छन् ।




.gif)





