images

२०८३ आश्विन १७ गते

images
images
images
  • मूख्य समाचार
  • वैज्ञानिकलाई प्रधानमन्त्रीको सुझाव: जे मन लाग्यो...

वैज्ञानिकलाई प्रधानमन्त्रीको सुझाव: जे मन लाग्यो त्यसमा भन्दा देशको आवश्यकताअनुसार अनुसन्धान होस्

वैज्ञानिकलाई प्रधानमन्त्रीको सुझाव: जे मन लाग्यो त्यसमा भन्दा देशको आवश्यकताअनुसार अनुसन्धान होस्

images
images
बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि देशको आवश्यकता अनुसार अनुसन्धान गर्न वैज्ञानिकहरूलाई आग्रह गरेका छन्।

    images
    images

    मंगलबार प्रधानमन्त्री निवासमा आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४७ औं प्राज्ञसभामा नाष्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले देशको आवश्यकताअनुसार अनुसन्धान गर्न आग्रह गरेका हुन्। 

    ‘आफूलाई जे मन लाग्यो त्यसमा भन्दा पनि देशको आवश्यकताअनुसार अनुसन्धान होस्। कृषि क्षेत्रको अनुसन्धानका लागि कृषि अनुसन्धान परिषद् (नार्क) जस्ता संस्थासँग सहकार्य होस्,’ उनले भने, ‘सुशासन कायम गर्ने कामको नेतृत्व म गर्छु, तपाई वैज्ञानिकबाट नयाँ खोज र अनुसन्धान गरेर मुलुकको परिवर्तनमा योगदान गर्न मेरो आग्रह छ।’

    images
    images

    त्यस्तै रासायनिक मल र कीटनाशक औषधिको प्रयोगका कारण देशभरको माटो रुग्ण भएकाले यसलाई कसरी उपचार गर्न सकिन्छ भन्नेमा अनुसन्धान गर्न आग्रह गरे। प्रधानमन्त्रीले सागसब्जी उत्पादनमा विषादीयुक्त कीटाणु कसरी रोक्ने र चाहिने कीटाणु कसरी कायम राख्ने भन्ने विषयमा अनुसन्धान भएमा उत्पादन र उत्पादकत्व वृद्धिमा सहयोग पुग्ने बताए।

    उनले अब नेपालले पनि आफ्नै सेटलाइट राख्नेतर्फ ध्यान दिनुपर्ने पनि बताए।

    ‘ज्ञान, विज्ञान र योगको उद्गम भूमि नेपाल विकासका दृष्टिले पछाडि परेको छ। अरुले ढुंगा हानेर सिकार गर्दै गरेको अवस्थामा हामीले पशुपालनको युग सुरू गरिसकेका थियौं। अब ‘ग्रिन हाइड्रोजन’को प्रयोग र अन्तरिक्षको ‘अर्बिट’मा आफ्नै ‘सेटलाइट’ राख्नेतर्फ ध्यान दिन सक्नुपर्छ। भूकम्पको पूर्वसूचना प्रणालीलाई स्थापित गरेर जानुपर्छ,’ उनले भने।
     
    प्रधानमन्त्री ओलीले सिद्धान्त र दर्शनका आधारमा नभए पनि प्रयोग र अभ्यासका हिसाबले पुर्खाले सुरू गरेका आयुर्वेद, ध्वनि विज्ञानलगायत क्षेत्रमा गरेका विकासको स्मरण गर्दा आत्मबल वृद्धि हुने बताए।

    सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि ५० करोड ६८ लाख ३९ हजार रुपैयाँको बजेटसहितका कार्यक्रम स्वीकृत गरेको छ।

    सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत सहभागी सभामा प्रतिष्ठानका उपकुलपति प्रा. डा. दीलिप सुब्बाले विज्ञान, प्रविधि र नवप्रवर्तनलाई सरकारले समृद्धिको आधार मानेकामा त्यसको प्रशंसा गरे।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend